इटहरीः इटहरीमा जारी पुष्पलाल स्मृति ब्याडमिन्टनमा सेनाका रत्नजीत तामाङ र राष्ट्रिय च्याम्पियन एपीएफका दिपेश धामी आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

तामाङले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ ले पराजित गरे । अब उनले फाइनल प्रवेशका लागि सेनाकै नवीन श्रेष्ठको सामना गर्ने भएका छन् । नवीनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११, २१–१५ ले पाखा लगाए । यस्तै, एपीएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६ र २१–१६ को जीत निकाले । सेमीफाइनलमा धामीको भीडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्यमाथि २१– ७, १८–२१ र २१–११ को जीत निकाले ।

पुरुष एकल खुलातर्फ सेनाका पविन लिङ्थेप बाँकेका रियाज अन्सारीलाई १६–२१, २१–७ र २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमीफाइनलमा एपीएफका प्रियान्सु सिंह क्षेत्रीसँग प्रतिष्पर्धा गर्नेछन् । प्रियान्सुले एपीएफका इन्द्रबहादुर महतलाई २६–२४ र २१–१९ ले पराजित गरेका थिए ।

यस्तै, अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपीएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१–१६ र २१–१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१–१५ र २१–१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

Priyanshu Singh, APF Elina Tiruwa Pabin Lingthep, TAC