इटहरीः सुनसरीमा सञ्चालित जिल्लास्तरीय विद्यालय ग्रासरुट लिग फुटबल प्रतियोगिताको उपाधी हिमशिखर, लिटिल फ्लावर र कचना माविले जितेका छन् ।

छात्रा १३ वर्ष उमेर समूह अन्तर्गतको खेलमा हिमशिखर बोर्डिङ स्कुल इटहरी लिग च्याम्पियन बनेको छ । यस्तै, छात्र १० वर्ष उमेर समूहअन्तर्गतको खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल इटहरी लिग च्याम्पियन भएको छ । छात्रा १३ वर्ष उमेर समूहमा कचना माध्यमिक विद्यालय इटहरी लिग च्याम्पियन बन्न सफल भएको छ ।

विजयी विद्यालयका खेलाडीलाई प्रमुख अतिथि एन्फा मानार्थ उपाध्यक्ष किशोर राई, एन्फा सुनसरी अध्यक्ष केशव कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपालमै पहिलो पटक सुनसरीमा सञ्चालित विद्यालय ग्रासरुट लिग शनिबार सम्पन्न भएको हो । लिगमा १३ वर्षसम्मका छात्रछात्राको सहभागिता थियो । इटहरी–३ स्थित बुढासुब्बा खेल मैदानमा लिग भदौ ६ गतेबाट शुरु भएको थियो । प्रतियोगिता संयोजक कोबितजङ्ग कार्कीका अनुसार जिल्लास्तरीय रूपमा सञ्चालन गरिएको प्रतियोगितामा छात्रतर्फ ८ विद्यालय र छात्रातर्फ ४ वटा विद्यालय सहभागी थिए ।

फुटबलप्रति विद्यालय स्तरदेखि नै आकर्षण बढाउन जिल्ला फुटबल सङ्घले पहिलो पटक विद्यालयस्तरीय ग्रासरुट लिग प्रतियोगिता आयोजना गरेको हो । विद्यालय स्तरदेखि नै शुरु गरिएको यो लिगले स्थानीय स्तरदेखि नै दक्ष र कुशल खेलाडी उत्पादन हुने प्रतियोगिता संयोजक कार्कीले बताए ।