उर्लाबारीः असोज ४ गते मोरङको उर्लाबारीमा हुने उर्लाबारी रनको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार मोटरसाइकल ¥याली गरिएको छ ।

विश्व शान्ति दिवसको अवसरमा उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको प्रचारप्रसार गर्न मोटरसाइकल ¥याली गरिएको हो । उर्लाबारीको मङ्गलबारे, बरगाछी, उर्लाबारी चोक, सूर्य चोक, मिक्लाजुङको मधुमल्लालगायतमा मोटरसाइकल ¥याली गरिएको कार्यक्रम संयोजक प्रभु राईले जानकारी दिए ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा ७ सय भन्दा बढीको सहभागिता रहने उनले जानकारी दिए । बालबालिका, महिला, पुरुष र भेट्रान गरी दौड प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए । राष्ट्रिय स्तरमा उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए ।

बालबालिकातर्फ प्रथम हुनेलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार, तेस्रो हुनेलाई १ हजार र चौथो हुनेलाई ५ सय रुपैयाँ प्रदान गरिने जनाइएको छ । त्यस्तै, खुला पुरुषतर्फ प्रथम हुनेलाई नगद ११ हजार, दोस्रो हुनेलाई ९ हजार, तेस्रो हुनेलाई ७ हजार र चौथो हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक राईले जानकारी दिए ।

महिलातर्फ प्रथम हुनेलाई नगद १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । त्यसैगरी, भेट्रानतर्फ प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार र चौथो हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

त्यस्तै, उर्लाबारी नगरस्तरीय खुला दौडमा पुरुषतर्फ प्रथम हुनेलाई ४ हजार, दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार र चौथो हुनेलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

नगरस्तरीय महिलातर्फ प्रथम हुनेलाई नगद ३ हजार, दोस्रो हुनेलाई २ हजार, तेस्रो हुनेलाई १ हजार र चौथो हुनेलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने सचिव प्रेम बोहोराले जानकारी दिए । प्रतियोगितामा करिब ५ लाख २४ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रथम हुने सबैलाई ५ लाख रुपैयाँको बीमासमेत गराइने आयोजकको भनाइ छ ।