धरानः धरानमा जारी यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

एम्ब्रीय क्लब एकेडेमी मोरङ र महेन्द्र फुटबल एकेडेमी दुहबी पहिलो सेमीफाइनलमा भिड्ने भएका छन् भने एन्फा एकेडेमी धरान र विराटनगर फुटबल एकेडेमी दोस्रो सेमीफाइनलमा भिड्ने भएका छन् ।

सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मोरङको एम्ब्रीय क्लब एकेडेमीले झापाको मेची नेत्रालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको छ ।

एम्ब्रीयका लागि कमलबहादुर थापामगरले २ गोल गरे भने तिलक ओझाले एक गोल गरेका थिए । सेमीफाइनलमा एम्ब्रीयले दुहबीको महेन्द्र मेमोरियल फुटबल एकेडेमीसँग मङ्गलबार दिउँसो प्रतिष्पर्धा गर्नेछ । एम्ब्रीयले प्रि–क्वाटर फाइनलमा भरौलको न्यु स्टार एकेडेमीलाई पराजित गरेको थियो भने मेची नेत्रालयले बाइ पाएर सिधै क्वाटर फाइनलमा प्रतिष्पर्धा गरेको थियो ।

धरानको एन्फा एकेडेमीको खेल मैदानमा भइरहेको यु–१४ एन्फा कप फुटबल प्रतियोगितामा यसअघि नै धनकुटाको मार्गादेवी युवा क्लबलाई पराजित गर्दै विराटनगर फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

त्यस्तै, एन्फा एकेडेमी धरानले प्रि–क्वाटर फाइनलमा इटहरीको राष्ट्रिय जागृति क्लब एकेडेमी र क्वाटर फाइनलमा उदयपुर जिल्ला फुटबल टिमलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ । धरानको एन्फा एकेडेमी र विराटनगर फुटबल एकेडेमीबीच बुधबार सेमीफाइनलको खेल हुनेछ ।

प्रतियोगितामा १० ओटा फुटबल एकेडेमी टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् ।