इटहरीः जननेता मदन भण्डारीको स्मृतिमा बनेको खेलकुद संस्था मदन भण्डारी स्पोट्स एकेडेमी सुनसरीले एक लाख राशिको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही असोज १० र ११ गते इटहरीको पाथीभरा फुटसल प्रालिको फुटसल एरिना (मैदान)मा हुने भएको छ ।

फुटबल जस्तै तर बन्द कोठामा पाँच जनाको दरले दुई समूहमा खेलिने फुटसल प्रतियोगितामा प्रदेश १ का ४० टिम सहभागी हुने आयोजक संस्थाका अध्यक्ष होमनाथ धमलाले बताए । उनले भने, ‘हामीले प्रदेश १ का १४ जिल्लाका ५० फुटसललाई निम्तो गरे पनि सहभागी भने ४० हाराहारी हुने आशा छ ।’

आज इटहरीमा पत्रकार सम्मेलन गर्दै एकेडेमी अध्यक्ष धमलाले मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने खेलकुद प्रतियोगिता प्रादेशिक स्तरको हुने बताए । प्रथम बिजेताले १ लाख १ हजार नगद, ट्रफि र प्रमाणपत्र र उपबिजेतालाइ ५१ हजार नगद र ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने धमलाले बताए । उनले भने, ‘इटहरीमा सुस्ताएको खेलकुद प्रतियोगितामा चहलपहल ल्याउन र फुटसलको क्रेजलाई बढाउन प्रतियोगिता आयोजना गरेका छौँ ।’

निवर्तमान राष्ट्रिय खेलकुद परिसद (राखेप)का सदस्य सचिव केवश बिस्टको गृहनगरमा हुने फुटसल प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीको स्थापना हालका राखेप सदस्य सचिव रमेश सिलवालको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षकत्वमा २०६६ सालमा भएको थियो ।

७ प्रदेशका ७७ जिल्लामा शाखा भएको एकेडेमीले खेलकुदका विभिन्न गतिविधिहरू गर्दै आएको सुनसरी शाखा अध्यक्ष होमनाथ धमलाले बताए । सुनसरीका विभिन्न स्थानीय तहहरूमा पनि शाखा रहेको बताउँदै धमलाले इटहरीमा पनि युवराज गौतमको नेतृत्वमा नयाँ शाखा बनाइएको बताउँछन् ।

सुनसरीमा गत भदौ ५ गते पहिलोपटक स्थापना भएको मदन भण्डारी स्पोट्स एकेडेमीले फुटसलसँगै अन्य विभिन्न प्रतियोगिताहरू पनि निरन्तर गर्दै जाने अध्यक्ष धमलाले बताए । उनले भने, ‘इटहरीको खेलकुद सिन्डिकेटलाई धक्का र दिन तथा सुनसरीमा नयाँ खाले खेलकुद जागरण ल्याउन मदन भण्डारी स्पोट्स एकेडेमीले जिल्लाका हरेक स्थानीय तहहरूमा फरकफरक खेलकुद र खेलकुदजन्य रचनात्मक कार्यक्रमहरू ल्याउनेछ ।’

इटहरीमा मदन भण्डारी गोल्डकप लगायतका प्रतियोगिताको आयोजना पनि स्पोट्स एकेडेमीले नै गर्ने तयारी भएको पनि अध्यक्ष धमलाले बताए । उनले भने, ‘क्लबको नेचर अनुसारको टाइटलको कार्यक्रम हुनुपर्छ । हामी मदन भण्डारी स्पोट्स एकेडेमीको सुनसरीको आधिकारिक शाखा भएकोले इटहरीको मदन भण्डारी गोल्ड कप एकेडेमीको इटहरी शाखासँग मिलेर जिल्लाले गर्नेछ ।’