धरानः धरानमा भएको प्रदेशस्तरीय पहिलो यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधी एन्फा एकेडेमी धरानले जितेको छ ।

फाइनलमा मोरङको एम्ब्रीय एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै एन्फा एकेडेमी धरानले उपाधी जितेको हो । प्रतियोगितामा एक नं. प्रदेशका १० ओटा फुटबल एकेडेमीले सहभागिता जनाएका थिए । प्रतिष्पर्धात्मक फाइनल खेलमा एन्फाका आयुष गुरुङले गोल गरेका थिए । एम्ब्रीय एकेडेमीले समेत गोल गर्ने सुन्दर मौका गुमाएको थियो । एम्ब्रीय एकेडेमीका डिफेन्सले एन्फा एकेडेमीका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई एन्फाका आयुष गुरुङले गोल गर्न चुके । उनको प्रहार पोलमा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्ब्रीय एकेडेमीका सन्देश सुब्बा घोषित हँुदै नगद २ हजार पुरस्कार प्राप्त गरे ।

एन्फा एकेडेमीले उपाधीसँगै ५० हजार नगद पुरस्कार जितेको छ । उपविजेता एम्ब्रीय एकेडेमीले नगद रु २५ हजार पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एन्फा एकेडेमीका आयुष गुरुङले नगद ३ हजार, ट्रफी र मेडल जितेका छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट फरवार्ड एम्ब्रीयका कोमल थापा मगर घोषित भए । प्रतियोगितामा एन्फा एकेडेमीका युनिस बुढाथोकी उत्कृष्ट डिफेन्स, असिमजंग कार्की उत्कृष्ट मिडफिल्डर र कृषल मोक्तान उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरूलाई जनही नगद ३ हजार पुरस्कार दिइएको थियो । प्रतियोगितामा एन्फा एकेडेमीका आयुष गुरुङ र एम्ब्रीयका कोमल थापा मगरले उच्च गोलकर्ताको उपाधी जिते ।

उनीहरूले १ हजार ५ सयका दरले पुरस्कार पाए । उनीहरूले समान ५÷५ गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक एन्फा एकेडेमीका सुमन श्रेष्ठ घोषित भए । उनलाई नगद रु ५ हजार प्रदान गरिएको थियो ।
एकेडेमीहरूले होम एण्ड अबे फुटबल खेल्ने

१ नं. प्रदेशमा पहिलो पटक भएको एकेडेमी स्तरीय प्रतियोगिताको आयोजना एन्फा एकेडेमी म्यानेजमेन्ट कमिटी धरानले गरेको हो । एकेडेमीस्तरीय प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्ने कमिटीका अध्यक्ष तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले बताए ।

राईले प्रतियोगिताले एकेडेमीमा फुटबल सिक्दै गरेका युवालाई थप प्रोत्साहित गरेको बताए । होम एण्ड अवेको आधारमा फुटबल खेल्ने गरी एन्फा एकेडेमी धरान विभिन्न क्लबकै होम ग्राउण्डमा आउने उनको भनाइ थियो । उनले आगामी वर्ष एन्फा कप भव्य रूपले आयोजना हुने र फाइनलमा पुगेका दुई टिमले विदेशमा पुगेर खेल खेल्ने अवसर पाउने भनी विश्वस्त पारेका थिए ।