उर्लाबारीः तेस्रो उर्लाबारी रनको खुलातर्फको उपाधि विराटनगरका सुवास कार्की (पुरुष) र धरानकी निकी नेम्बाङ (महिला) ले जितेका छन् ।

सामुदायिक विकास मञ्च उर्लाबारीको आयोजनामा शनिबार शान्ति दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताको उपाधिसँगै पुरुषतर्फको विजेता कार्कीले नगद ११ हजार र महिलातर्फको विजेता नेम्वाङले १० हजार रुपैयाँ पाइन् । उनीहरू दुवै जनाले ५ लाख रुपैयाँ बराबरको बीमा पनि पाए । खुला पुरुषतर्फ विराटनगरकै जितेन दनुवार दोस्रो भए । उनले नगद ९ हजार पाए । त्यस्तै, सोही समूहमा अर्घाखाँचीका शिव रायमाझी तेस्रो हुँदै नगद ७ हजार पाए भने खोटाङका सिकेश राई चौथो हुँदै नगद १ हजार रुपैयाँ पुरस्कार पाए ।

त्यस्तै, महिलातर्फ दमककी चन्द्रकला भुजेल दोस्रो भइन् । उनले नगद ७ हजार पाइन् । त्यस्तै, दमककै सङ्गीता तामाङ तेस्रो भइन् । उनले नगद ५ हजार पाइन् ।

त्यस्तै, भेट्रानतर्फ प्युठानका दामोदार बुढामगरले उपाधि जिते । उनले नगद ५ हजार र ५ लाख रुपैयाँ बराबरको बीमा पाए । त्यस्तै, धरानका मङ्गलबहादुर तामाङ दोस्रो, धरानका रामप्रसाद उराव तेस्रो र उर्लाबारीका युवराज दाहाल चौथो भए । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पाए ।

त्यस्तै, उर्लाबारी नगरस्तरीय खुला दौडमा पुरुषतर्फ उर्लाबारी–७ का अर्जुन श्रेष्ठ पहिलो, उर्लाबारी–७ कै गजेन्द्र निरौला दोस्रो, उर्लाबारी–१ का सविन राई तेस्रो र उर्लाबारी–९ का विवेक कार्की चौथो भए । प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ४ हजार, ३ हजार, २ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार पाए । प्रथम हुने श्रेष्ठले ५ लाख रुपैयाँ बराबरको बीमासमेत पाए ।

त्यस्तै, नगरस्तरीय महिलातर्फ उर्लाबारी–१ की विनु अधिकारी, उर्लाबारी–५ की मुना चौलागाई, उर्लाबारी–६ की सोल्मा राई र उर्लाबारी–६ की रिना बोहोरा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भए । उनीहरूले क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँ पुरस्कार पाए । पहिलो हुने अधिकारीले भने ५ लाख रुपैयाँबराबरको बीमा सुविधा पनि पाइन् ।

१४ वर्ष मुनिका बालकतर्फ धरानका किरण राई पहिलो भए । उनले नगद ३ हजार रुपैयाँ र ५ लाख रुपैयाँ बराबरको बीमा सुविधासमेत पाए । त्यस्तै, दोस्रो दमकका युवराज लिम्बू, तेस्रो दमककै पवनकुमार साह र चौथो धरानका राजन राई भए । उनीहरुले क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ पाए ।

त्यस्तै, बालिकातर्फ धरानकी प्रेमा तामाङ पहिलो हुँदै नगद ३ हजार र ५ लाख रुपैयाँ बराबरको बीमा सुविधा पाइन् । त्यस्तै, दोस्रो दमककी लक्ष्मी भुजेल, तेस्रो उर्लाबारीकी पूजा विमल र चौथो उर्लाबारीकी इशा राई बनिन् । उनीहरूले क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ पाए ।

स्वास्थ्यका लागि दौड भन्ने मुख्य नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक प्रभु राईले जानकारी दिए । राष्ट्रिय स्तरमा उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा अल्ट्रा धावक मीरा राईको पनि उपस्थिति रहेको थियो ।