बेलबारीः धरान फुटबल क्लबले मोरङको लक्ष्मीमार्गमा शुरु तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलको यात्रा तय गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई घरेलु मैदानमा ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै धरान विजयी भएको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा धरानका वर्तमान राई, बुद्ध चेम्जोङ, मनोज राई र विष्णु सुनारले गोल गरे । मनिष गुरुङको प्रहार पोलमा लागेर फर्किएको थियो ।

आयोजकका साइमन राई, विक्रम लिम्बू र अनुज मगरको प्रहारले मात्रै पोस्टको दिशा पायो । सुनिल खड्काको प्रहार धरानका गोलरक्षक लक्की कार्कीले रोकिदिए । मिलन राईको प्रहार पोलमा लागेर फर्किनुनै आयोजकका लागि दुखद बन्यो । दुवै टिमको फिनिसिङ फितलो हुँदा निर्धारित समयमा नतिजा निस्कन नसक्दा खेलको निर्णय लिन टाइब्रेकरसम्म पर्खनुपरेको हो ।

खेलको १५ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार आयोजकका गोलरक्षक छिरिङ तामाङले रोकेका थिए । २८ औं मिनेटमा धरानकै वर्तमान राईको प्रहार दायाँ बार हुँदै बाहिरिएको थियो । ४७ औं मिनेटमा तीर्थ बस्नेतको सशक्त प्रहारलाई आयोजकका गोलरक्षक तामाङले विफल पारिदिए । ५५ औं मिनेटमा उमेश राईको प्रहार क्रस बार माथिबाट बाहिरिएपछि धरानले निर्धारित समयमा गोल गर्न सकेन ।

२२ औं मिनेटमा सुनिल खड्काको प्रहारलाई धरानका गोलरक्षक लक्की कार्कीले उत्कृट ढ्गबाट बचाउ गरे । ४६ औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबार माथिबाट बाहिरियो । ६० औं मिनेटमा सुनिल खड्काले गरेको प्रहारलाई धरानका गोलरक्षक कार्कीले बचाउने क्रममा रिबाउण्ड भएपछि विकेश सुब्बाले गरेको अर्को प्रहारले पनि पोस्टको दिशा लिन नसक्दा आयोजकले अन्तिम चारमा स्थान पक्का गर्ने अवसर गुमायो ।

खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक लक्की कार्की घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पाए ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा शुरु प्रतियोगिता असोज १० गतेसम्म सञ्चालन हुने छ । ८ ओटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरे । प्रथम हुने टिमले ५ लाख र दोस्रो हुने टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । आइतबार झापा–११ र एपीएफ क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।