बेलबारीः एपीएफ क्लब काठमाडौंले मोरङको लक्ष्मीमार्गमा भइरहेको तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा झापा–११ लाई २–० गोल अन्तरले पारजित गरेको छ ।

आइतबार सम्पन्न रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले १÷१ गोल गरेर सेमीफाइनलका लागि आफ्नो स्थान पक्का गरेका थिए ।

झापाले दुवै गोल बेहोर्नुमा गोलरक्षक दिपांसु राउतको कमजोरी रहयो । रोमाञ्चक खेलमा गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै विभागीय टोली एपीएफ अघि बढ्दा साविक उपविजेता झापाको पहिलो खेलमै ब्रेक लागेको छ । प्रतियोगिताबाटै बाहिरिए पनि झापा आक्रामक रूपमा खेलमा उत्रिएको थियो । तर फिनिसिङ फितलो हुँदा एपीएफ लम्कियो

२६ औं मिनेटमा रोहित थापाको गोलबाट एपीएफले गोलको खाता खोलेको थियो । थापाले कर्नरबाट गरेको प्रहारलाई गोलरक्षक राउतले क्लियर गर्न नसक्दा झापालाई दबाब परेको थियो । क्लियर गर्ने प्रयास गरेको बलले राउतको हातमा ठोक्किँदै जाली चुम्यो । गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै ७० औं मिनेटमा हरि कार्कीले गोल थपेर एपीएफ थप बलियो बन्यो । राउत अगाडि बढेको मौका छोप्दै एपीएफकै रामकुमार कुमालले खाली पोस्टमा गरेको प्रहार पोलमा लागेर रिबाउण्ड भएपछि कार्कीले वान टच जाली चुमाउँदा झापा स्तब्ध बन्यो ।

१२ औं मिनेटमा सुदीप शिखरकारको पासमा हरि कार्कीले हेड गरेको प्रहार गोलरक्षक राउतले रोक्दै आफ्नो टिमविरुद्ध शुरुवाती गोलको सङ्कट टारेका थिए । ९० औं मिनेटमा प्रवीण स्याङ्तानले खाली पोस्टमा गरेको प्रहारले सही दिशा लिन नसक्दा खेलमा एपीएफले अर्को गोल थप्न सकेन ।

३६ औं मिनेटमा झापाका सौरभ लिम्बूको कर्नर पासमा राजन माझीको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४५ औं मिनेटमा अभिषेक गुरुङको प्रहारले विपक्षी बार भत्काउन नसक्दा मध्यान्तर अघि झापाले खेलमा फर्कने अवसर गुमायो । ५२ औं मिनेटमा दिलेन लोक्तामको प्रहारमा पनि एपीएफका गोलरक्षक राजु नगरकोटी बाधक बने ।

५५ आँैं मिनेटमा झापाका सौरभको प्रहार नगरकोटीले उत्कृष्ट ढङ्गले बचाए । ६६ औं मिनेटमा सौरभ वान भर्सेस वानको अवस्थामा चुक्नु पनि झापाका लागि दुर्भाग्यपूर्ण बन्यो । ८७ औं मिनेटमा योगेश गुरुङको प्रहारले विपक्षी बार भत्काउन नसक्दा झापाले सान्त्वना गोल फर्काउने अवसरको पनि सदुपयोग गर्न सकेन ।

खेलको म्यान अफ दी म्याच एपीएफका गोल रक्षक राजु नगरकोटी घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । सोमबारको खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं र गोर्खा ब्वाइज क्लब बुटवलबीच भीडन्त हुनेछ ।