बेलबारीः रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

बेलबारी–११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी मावि खेल मैदानमा मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा निराशा बनाउँदै पाहुना टोली भारत विजयी बनेको हो ।

उसले आगामी बिहीबार हुने सेमीफाइनल खेलमा विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको छ । निर्धारित समय २–२ गोलको बारीबरीमा सकिएपछि खेल टाइब्रेकरमा रोकिएको थियो । टाइब्रेकर पुलिसका लागि दुर्भाग्यपूर्ण बन्यो ।

भारतको जीतमा गोलरक्षक किशोर गिरीको खेल नै पुलिसलाई अफाप सिद्ध भयो । टाइब्रेकरमा भारतका निरज बस्नेत, पोल्साङ लामा, क्लास बस्नेत र सोनाम भुटियाको प्रहारले जाली चुमेको थियो । पुलिसका सुमन लामा र भरत साहको प्रहार मात्रै गोलमा परिणत भयो भने निरकुमार राईको प्रहार रोकेर भारतका गोलरक्षक तथा खेलका म्यान अफ दी म्याच गिरीले उत्कृष्ट प्रदर्शन गरे । बुद्ध बलको प्रहार पोलमा लागेर फर्किएपछि पुलिसको सेमीफाइनल यात्रामा यो खेलका लागि समाप्त बन्यो ।

समान खेलको शुरुवातमै गोलको खाता खोलेर अग्रता बनाए पनि भारतले विजय हासिल गर्न भने टाइब्रेकरसम्म पर्खनुप¥यो । भारतका प्रतीक लामाको कर्नर प्रहारलाई हेड गर्दै अमीर लामाले तेस्रो मिनेटमै बललाई जाली चुमाउँदा पुलिस दबाबमा परेको थियो । त्यसपछि आक्रामक बनेको पुलिसले भारतको शुरुवाती अग्रता ४ मिनेट पनि टिक्न दिएन । सौजन याक्खाले सातौं मिनेटमा गोल फर्काउँदै पुलिसलाई खेलमा फर्काए ।

मध्य भागबाट हेमन्त श्रेष्ठले दिएको पासमा विपक्षी गोलरक्षक गिरी अगाडि बढेको मौका छोप्दै याक्खाले भली गरेर बललाई पोस्टको दिशा दिएपछि खेल बराबरीमा आएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

भारतका दीपु वर्मनले ८१ औं मिनेटमा अर्को गोल गरेर खेललाई २–१ को अवस्थामा पु¥याए । निरज बस्नेतको पासमा पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठलाई बिट गर्दै वर्मनले बललाई वान टच जाली चुमाएका थिए ।

निर्धारित समय सकिन ९ मिनेट समय मात्रै बाँकी रहेको अवस्थामा पनि भारत सम्हालिन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । अन्तिम समयमा पुलिसका सुमन लामाले गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा पु¥याएका थिए । भारतका प्रतीक लामाले फल खेलेपछि करीब २५ यार्ड टाढाबाट पाएको फ्रिकिक प्रहारलाई सुमनले सदुपयोग गर्दै बललाई पोस्टको बाटो दिएपछि खेलको छिनोफानो निर्धारित समयमा हुन सकेन ।

दुवै टिमले गोल गर्नका लागि पाएका आधा दर्जन राम्रा अवसरको सदुपयोग गर्न सकेनन् । भारतको तुलनामा अवसर धेरै सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा र फिनिसिङ फितलो हुँदा पुलिस नतिजा विमुख बनेर फर्किएको हो । पुलिसका निरकुमार राई, सुमन लामा, भरत साह र बुद्ध बल ‘वान भर्सेस वान’को अवस्थामा गोल गर्न चुक्नु पुलिसका लागि दुर्भाग्यपूर्ण बन्यो । भारतका पनि आदर्श तामाङ, निशान्त लिम्बू र श्याम सरकारको प्रहारले पोस्टको बाटो नदेख्दा खेलको नतिजा निर्धारित समयमा निस्कन सकेन ।

खेलको म्यान अफ दी म्याच भारतका गोलरक्षक किशोर गिरी घोषित भए । उनले ५ हजार नगद पुरस्कार पाए । बुधबार हुने पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरी र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।