बेलबारीः बेलबारीको डाँगीहाटमा आजदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट फुटबल प्रतियोगितामा चर्च ब्वाइजले विजयी शुरुवात गरेको छ ।

खेल शुरु भएको १५ मिनेटमै विजयी टिमका जर्सी नम्बर १७ का खेलाडी निरज बस्नेतले पहिलो गोल गरेका थिए । पहिलो गोल गरेको केही मिनेटमै जर्सी नम्बर ११ का जङ्वु शेर्पाले दोस्रो गोल थपेका थिए ।

खेलको पहिलो हाफसम्म चर्च ब्वाइज खेलमा हाबी हुँदा उसले ४ गोल गरिसकेको थियो भने धनकुटाले १ गोल पनि गरेको थिएन । खेलको दोस्रो हाफमा भने धनकुटा फुटबल क्लबले ३ गोल र चर्च ब्वाइजले थप १ गोल गरेका थिए । चर्च ब्वाइज धनकुटामाथि ५–३ को गोलअन्तरले विजयी भएको हो ।

चर्च ब्वाइजका तर्फबाट खेलको १६ औं मिनेटमा निरज बस्नेतले, २६ औं मिनेटमा जाङ्बु शेर्पाले, ३८ औं मिनेटमा भुवन बस्नेतले, ४८ औं मिनेटमा सुनिल खड्काले र ६७ औं मिनेटमा जाङ्बु शेर्पाले गोल गरेका थिए । धनकुटाको तर्फबाट ६३ औं र ८२ औं मिनेटमा वर्तमान राईले तथा ६८ औं मिनेटमा दिपेन तामाङले गोल गरेका थिए ।

football (1)
एन्फाका उपाध्यक्षद्वारा खेल उद्घाटन
जारी प्रतियोगिताको एन्फाका वर्तमान उपाध्यक्ष एवम् पूर्व कप्तान उपेन्द्रमान सिंहले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि सिंहले प्रतियोगिताको नाम लेखिएका बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले आयोजकले खेल क्षेत्रमा आफ्नो राम्रो उपस्थिति जनाएको बताइन् । राष्ट्रको पहिचान तथा स्वास्थ्यसँग पनि जोडिएको हुनाले खेलकुदको विकासमा नगरले ध्यान दिइरहेको उनले बताइन् ।

football (2)
डाँगीहाट युवा क्लब लक्ष्मीमार्गले आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन समारोहमा एन्फाका सहसचिव वसन्त अर्याल, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीलगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो । लक्ष्मी खेल मैदानमा जारी प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका जाङ्बु शेर्पा घोषित भए । आइतबार आयोजक डाँगीहाट युथ क्लब र झापाको बिर्तामोड युनाइटेडबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

 

football (4) 4