बेलबारीः धरान फुटबल क्लब मोरङको बेलबारीमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमीफाइनल खेलमा मदन भण्डारी स्पोट्र्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधी होडमा पुगेको हो । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबीचको विजेतासँग आगामी शुक्रबार उपाधी रक्षाका लागि प्रतिष्पर्धा गर्नुपर्ने छ ।

धरानको जीतमा वर्तमान राई र कर्ण लिम्बूले १÷१ गोल गरे । एकेडेमीका सुशान्त तामाङले १ गोल फर्काए । धरानको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्दा एकेडेमीको फाइनल यात्रामा पूर्णविराम लाग्यो । धरानले गोल गर्नका लागि खासै अवसर सिर्जना गर्न नसके पनि पाएका अवसरलाई सदुपयोग गर्दै एकेडेमीलाई रोकेर अघि बढ्यो ।

एकेडेमीले भने गोल गर्नका लागि पाएका धेरै अवसर गुमायो । फिनिसिङ फितलो हुनु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । कृष्ण लामाको ठाउँमा ५४ औं मिनेटमा मैदान छिरेका यु–१८ राष्ट्रिय टोलीका कप्तान जय तामाङले उत्कृष्ट प्रदर्शन गरे पनि एकेडेमीले परिणाम आफ्नो पक्षमा पार्न सकेन । ५६ औं मिनेटमा राजु पहारीका ठाउँमा छिरेका नवीन लामा गुरुङको प्रदर्शन पनि सम्झनलायक रहयो ।

वर्तमान राईले पहिलो बार च्याप्दै ५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिंदा धरानले गोलको खाता खोेलेको थियो । गोलरक्षक रोहित कार्कीले पञ्ज गरेर बचाउने क्रममा राईले प्रहार गरेको बलले पोलमा लागेर जाली चुम्दा एकेडेमी दबाबमा प¥यो । ८० औं मिनेटमा कर्ण लिम्बूको गोलमार्फत् धरानले अग्रता दोब्बर बनायो । पहिलो गोलकर्ता वर्तमानका ठाउँमा ५७ औं मिनेटमा मैदान छिरेका उमेश राईले दिएको क्रस पासलाई लिम्बूले पोस्टको बाटो दिएपछि धरानको जीत पक्का भयो ।

सुशान्त तामाङले ८७ औैं मिनेटमा गोल फर्काए पनि एकेडेमीलाई जीतका लागि पर्याप्त हुन सकेन । जीवन धामीको क्रस पासमा तामाङले बललाई वान टच जाली चुमाएका हुन् ।

७० औं मिनेटमा कर्ण लिम्बूको सशक्त प्रहारलाई उत्कृष्ट ढङ्गबाट रोकेर गोलरक्षक रोहित कार्कीले एकेडेमीमाथि अरु गोल हुनबाट बचाए ।

११ औं मिनेटमा सुशान्त तामाङ ‘वान भर्सेस वान’मा चुक्दा एकेडेमीले शुरुवातमै खेलमा फर्कने अवसर गुमायो । ४३ औं मिनेटमा जीवन धामीको पासमा राजीव पहारीको प्रहारले पोस्टको बाटो नदेख्दा पहिलो हाफमा खेल बराबरी हुन सकेन । ७३ औं मिनेटमा एकेडेमीका जय गुरुङको प्रहारलाई बचाउँदै गोलरक्षक लक्की कार्कीले धरानविरुद्ध गोलको सङ्कट टारेका थिए । ८९ औं मिनेटमा भूषण सुब्बाको प्रहारलाई पनि गोलरक्षक कार्कीेले बचाउँदै आफ्नो टिमको जीत निश्चित गराएर एकेडेमीको फाइनल यात्रालाई रोकिदिए ।

खेलको म्यान अफ दी म्याच रोशन भुजेल भए । उनले ५ हजार नगद पाए । दोस्रो सेमीफाइनल खेलमा एपीएफ र भारतबीच बिहीबार प्रतिष्पर्धा हुँदैछ ।