बिर्तामोडः खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ ।

यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेलतालिका सार्वजनिक गरिएको थियो । निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी जमेको र हिलो भएका कारण निर्धारित समयमा गोल्डकपका खेल सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रङ्गशालामै पत्रकार सम्मेलन गरेर खेल स्थगित भएको जनाएको हो ।
आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी गकिए पनि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको बताए ।

मैदानको अवलोकनपछि खेल प्राविधिकहरूको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगित गरिएको जानकारी दिँदै प्रवक्ता राईले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको पनि बताए । उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पत्राचार गरिएको छ ।

कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्री स्टार क्लब बङ्गलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टीम मैदानमा उतार्ने तयारी गरिएको पनि उनले बताए ।

प्राविधिकहरूका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गई चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगित गरिएको उनको भनाइ थियो ।

प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको उनले सुनाए । तर, कात्तिकमा खेल सञ्चालन गर्दा पनि दर्शक नघट्ने उनले दाबी गरेका छन् । तिहार अगाडि नै सक्नेगरी प्रतियोगिता गर्ने लक्ष्य लिइएको उनले बताए । प्रतियोगिताको फाइनल खेल काग तिहारको दिन पर्नेछ ।

आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा मौसमका कारण खेल रोकिँदा नमज्जा लागेको बताए । अब अर्को मितिमा खेल हुने भएपछि केही आर्थिक क्षति बेहोरेर भए पनि फेरि तयारीमा जुट्ने उनको भनाइ छ ।

असोज ११ गतेदेखि हुने भनिएको गोल्डकपमा यसअघि ४ ओटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो ।

जसमा झापा ११ एफसी, नेपाल पुलिस क्लब, भारतको सिक्किम आक्रामक एफसी, असामको मोलवे फुटबल क्लब, सङ्कटा क्लब, विभागीय टोली त्रिभुवन आर्मी, थ्री स्टार क्लब र गोर्खा ब्वाइज रुपन्देही रहेका थिए ।

गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए ।

उनका अनुसार विधागततर्फ ७ ओटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५–१५ हजार पाउने यसअघि नै घोषणा गरिएको थियो ।