बेलबारीः भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लबबीच बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट हुने पक्का भएको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधी भीडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली खेलाडीले भरिएको भारतीय टिमको सहज जीतमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले १ गोल गरे । कमजोर प्रदर्शन गरेको एपीएफलाई रोक्ने क्रममा भारतले ३ ओटै गोल मध्यान्तरपछि गरेको हो ।

मध्यान्तर अघिसम्म रोके पनि एपीएफले लय गुमाउँदा मध्यान्तरपछि पाहुना टोली भारतमाथि हाबी बन्यो । भारत यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेर सेमीफाइनल पुगेको थियो । सेमीफाइनल यात्रा तय गर्ने क्रममा एपीएफले झापा–११ लाई क्वाटरफाइनलमा पराजित गरेको थियो । राजन गुरुङले राम्रो प्रदर्शन गरे पनि राष्ट्रिय टिमका राजेन्द्र रावल जम्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो । भारतका निशान्त लिम्बू, सुरज रसाइली, श्याम सरकार, कप्तान आदर्शन तामाङको प्रदर्शन उत्कृष्ट रहयो ।

एपीएफमाथि सनसनीपूर्ण जीत निकाल्ने क्रममा ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोलेर भारतलाई अगाडि बढाउँदा एपीएफ दबाबमा प¥यो । कैलाश बस्नेतको पासमा निशान्तले प्रहार गरेको ग्रास बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन् ।

६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाएपछि एपीएफ थप तनावमा प¥यो । डी–बक्स भन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले पोस्टको दिशा लिएको हो । एपीएफमाथि रवाफ देखाएको भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल सम्भव भयो । सुरज रसाइलीको पासमा सञ्जय सुब्बाले बललाई जाली चुमाउँदै एपीएफमाथि फराकिलो अन्तरको जीत दिलाए ।

खेललाई नियन्त्रणमा लिएको भारतले २१ औं मिनेटमा गोल गर्ने अवसर गुमायो । श्याम सरकारको प्रहारमा गोलरक्षक राजु नगरकोटी बाधक बन्दा भारतले शुरुवाती अग्रता बनाउन सकेन । ३५ औं मिनेटमा सुजन रसाइलीको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि उसले मध्यान्तरअघि गोल गर्न सकेन ।

१७ औं मिनेटमा सन्तोष श्रेष्ठको पासमा महेश लामा चुक्दा एपीएफको भारतलाई दबाबमा राख्ने अवसर खेर गयो । ५५ औं मिनेटमा रुद्रबहादुर लामाको उत्कृष्ट फ्रिकिक प्रहारलाई रोक्दै भारतका गोलरक्षक किशोर गिरीले एपीएफलाई खेलमा फर्कन दिएनन् ।

६५ औं मिनेटमा सन्तोष श्रेष्ठ अघि बढे पनि रेफ्री श्याम दनुवारले अफसाइडको सङ्केत गरेपछि एपीएफका लागि ‘वान भर्सेस वान’को अवसर गुम्यो । ७७ औँ मिनेटमा युवराज खड्काको सशक्त प्रहार रोक्दै गोलरक्षक गिरीले आफ्नो टिम विरुद्ध गोल हुन नदिँदा एपीएफले सान्त्वना गोल पनि फर्काउन सकेन ।

खेलको म्यान अफ दी म्याच भारतका निशान्त लिम्बूले ५ हजार नगद पुरस्कार पाए । प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ ।