इटहरीः जननेता मदन भण्डारीको स्मृतिमा गठित मदन भण्डारी स्पोट्स एकेडेमी सुनसरीको आयोजनामा भएको फुटसल प्रतियोगिता आज समापन हुने भएको छ । दुई दिने प्रतियोगिता शुक्रवार प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।

madan bhandari sports academy sunsari pradeshportal.com itahari

  इटहरी ५ को पाथीभरा फुटसल एरिनामा हुने आजको समापन खेलमा सेमिफाइनल र फाइनलका खेलहरू हुनेछन् । समापन समारोहमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आउने एकेडेमीले बताएको छ । 

२४ टोली सहभागी प्रतियोगिताको सेमिफाइनलको पहिलो खेल आयोजक मदन भण्डारी स्पोट्स एकेडेमी र झापा बिर्तामोडको एफएफसि (ए)का बिच हुनेछ । यस्तैगरि, दोस्रो सेमिफाइनल खेल बिग फुटसल क्लब धरान र बिर्तामोड फुटसल क्लब बिच हुनेछ ।

१२ बजे अगाडि सेमिफाइनल र २ बजेपछि फाइनल खेल हुने आयोजक मदन भण्डारी स्पोट्स एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाले बताए । विजेतालाई एक लाख एक हजार र उपविजेताले एकाउन्न हजार नगर राशिसहितको पुरस्कार इटहरीमा आजसम्म भएका प्रतियोगितामा सबैभन्दा धेरै भएको आयोजकको दाबी छ । 

निवर्तमान राष्ट्रिय खेलकुद परिसद (राखेप)का सदस्य सचिव केवश बिस्टको गृहनगरमा हुने फुटसल प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीको स्थापना हालका राखेप सदस्य सचिव रमेश सिलवालको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षकत्वमा २०६६ सालमा भएको थियो ।

७ प्रदेशका ७७ जिल्लामा शाखा भएको एकेडेमीले खेलकुदका विभिन्न गतिविधिहरू गर्दै आएको सुनसरी शाखा अध्यक्ष होमनाथ धमलाले बताए । सुनसरीमा गत भदौ ५ गते पहिलोपटक स्थापना भएको मदन भण्डारी स्पोट्स एकेडेमीले फुटसलसँगै अन्य विभिन्न प्रतियोगिताहरू पनि निरन्तर गर्दै जाने अध्यक्ष धमलाले बताए ।