इटहरीः मदन भण्डारी स्पोट्स एकेडेमी सुनसरीको आयोजनामा भएको प्रदेश १ स्तरीय फुटसल प्रतियोगिताका विजेता र उपविजेता दुवै धराने टोली भएका छन् ।
आज २ बजे सकिएको फाइनल खेलमा धरानको एफएफसि फुटसल विजेता भएको छ । विजेताले धरानकै बिग फुटसल क्लबलाई उपविजेता सीमित बनाएर उपाधि चुमेको हो । ७–२ को फराकिलो अन्तरले विजेता एफएफसिले नजिता आफ्नो पक्षमा पारेको थियो । विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पाएको आयोजकले बताएको छ ।

इटहरी ५ को पाथीभरा फुटसल एरिनामा शुक्रवारबाट सुरु प्रतियोगितामा प्रदेश १ का २४ फुटसल टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए भने आजको समापन खेलमा प्रमुख अतिथिको रूपमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत आएका थिए ।

समापन समारोहमा मदन भण्डारी स्पोट्स एकेडेमी प्रदेश १ अध्यक्ष सागर थापा, सचिव टीकाराम घिमिरे, इटहरी उपमहाानगरपालीकाकि उपमेयर लक्ष्मी गौतम लगायतको उपस्थिति रहेको थियो ।

निवर्तमान राष्ट्रिय खेलकुद परिसद (राखेप)का सदस्य सचिव केवश बिस्टको गृहनगरमा हुने फुटसल प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीको स्थापना हालका राखेप सदस्य सचिव रमेश सिलवालको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षकत्वमा २०६६ सालमा भएको थियो ।

७ प्रदेशका ७७ जिल्लामा शाखा भएको एकेडेमीले खेलकुदका विभिन्न गतिविधिहरू गर्दै आएको सुनसरी शाखा अध्यक्ष होमनाथ धमलाले बताए । सुनसरीमा गत भदौ ५ गते पहिलोपटक स्थापना भएको मदन भण्डारी स्पोट्स एकेडेमीले फुटसलसँगै अन्य विभिन्न प्रतियोगिताहरू पनि निरन्तर गर्दै जाने अध्यक्ष धमलाले बताए ।