काँकरभिट्टाः नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा झापाको मेचीनगरमा भएको महिला तथा पुरुष खुला मिनी म्याराथनको उपाधि पुरुषतर्फ तेह्रथुमका उमेश कन्दङ्वा तथा महिलातर्फ मेचीनगरकी भवानी कामतले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ७५ तथा महिलातर्फ २५ धावक सहभागी थिए ।

झापाको धुलाबारीबाट काँकरभिट्टासम्मको ६ किलोमिटरको दूरी कन्दङ्वाले १९ मिनेट तथा कामतीले २५ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । दुवै जनाले नगद ७ ÷७ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका थिए । यसैगरी, पुरुषतर्फ २० मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै तेह्रथुमकै अञ्जित दर्जी दोस्रो तथा मेघराज राई २० मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । दुवैले क्रमश ५ हजार तथा ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ २५ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्ध्या शर्मा शिवाकोटी दोस्रो तथा २५ मिनेट ५९ सेकेण्डमा दूरी पार गरेर सलिना तामाङ तेस्रो भइन् । दुवैले क्रमशः ५ हजार तथा ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

विजयी धावकहरूलाई १ नम्बर प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत, १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौला, मेची उद्योग वाणिज्य सङ्घ मेचीनगरका अध्यक्ष ऋषि तिम्सिनालगायतले पुरस्कार प्रदान गरेका थिए ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेको प्रतियोगिताको विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती थिइन् । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक उदयकुमार श्रेष्ठ र रोटरीका सुजन प्रधानले गरेका थिए ।

खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्घन गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग वाणिज्य सङ्घ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १ का संस्थापक महासचिव उदयकुमार श्रेष्ठले बताए ।