बेलबारीः मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले चुमेको छ । 

बेलबारी नगरपालिकाको लक्ष्मीमार्गस्थित खेल मैदानमा मङ्गलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई १ का विरुद्ध ४ गोल गर्दै पाहुना टोलीले पाखा लगाएको हो ।
। धरानमाथि शानदार जीत निकालेको उसले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा खुम्चिएको धरानले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

सेमीफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई पराजित गरेर धरान तथा एपीएफलाई पराजित गर्दै सिलिगुडी फाइनलमा पुगेको थियो । मध्यान्तरअघिसम्म धरानका खेलाडीको सन्तोषजनक खेल देखिए पनि मध्यान्तरपछि धरानको प्रदर्शन फितलो रहयो । खेलाडीबीच आपसी तालमेल मिल्न नसक्दा र फिनिसिङ कमजोर हुँदा धरानले उपविजेतामा चित्त बुझाउनुप¥यो । स्ट्राइकर भरत खवास र कर्ण लिम्बू जम्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।

खेलमा धरानमाथि हाबी देखिएको सिलिगुडीले शुरुवाती १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले पोस्टको दिशा दिएका थिए । पहिलो हाफ १–० को अवस्थामा सकिएको थियो । ५७ औं मिनेटमा सिलिगुडीले अग्रता दोब्बर बनायो ।

रक्षापंक्तिका मनोज राईलाई छक्याउँदै गोलरक्षक लक्की कार्कीलाई बिट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्टको बाटो तय गर्दा खेल २–० को अवस्थामा पुग्यो ।
सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । कप्तान आदर्श तामाङको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुग्यो । सत्यम् शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जीत दिलाए । कैलाश बस्नेतको ठाउँमा ६९ औँ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि बित्न नपाउँदै ‘वान भर्सेस वान’को स्थितिलाई सदुपयोग गरेर सिलिगुडीका लागि चौथो गोल गरेका हुन् ।

उमेश राईले ७४ औं मिनेटमा ‘वान भर्सेस वान’को स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई विट गर्दै धरानका लागि सान्त्वना गोल फर्काए । ६० औं मिनेटमा विशाल राईका ठाउँमा मैदान गएका उनले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले ५ हजार नगद पुरस्कार पाए ।

डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता बनेका उनले प्रतियोगिताभर ३ गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरुले जनही ७ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको उदीयमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शङ्कर राई घोषित भए । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाललगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट शुरु प्रतियोगितामा नेपाल र भारतका गरेर ८ ओटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल गत शनिबार हुने तय गरिएको भए पनि वर्षाका कारण मङ्गलबारलाई सरेको हो ।