ताप्लेजुङः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोल्डकपको उपाधि लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिमले हात पारेको छ ।

बडा दशैं तथा शुभ दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १÷० गोल अन्तरले पराजित गर्दै लालीगुराँसले उपाधि हात पारेको हो । लालीगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो ।

जीतसँगै लालीगुराँसले नगद १ लाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पेदाङले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई प्रदेश सांसद बलबहादुर साम्सोहाङलगायतले पुरस्कार प्रदान गरेको आयोजक खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम माबोले जानकारी दिए ।

ग्रामीण क्षेत्रलाई खेलकुदका गतिविधिमा अघि बढाउँदै खेलकुदकै माध्यमबाट आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यसहित गत १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । खेवाङस्थित गणेश माविको खेल मैदानमा सञ्चालित प्रतियोगितामा १६ टिम सहभागी थिए ।