बेलबारीः मोरङको बेलबारी फुटबलमय बन्न थालेको छ । १ महिनाभित्रैै ३ ओटा प्रतियोगिता भएका छन् । असोज ४ गतेदेखि १३ गतेसम्म लक्ष्मीमार्गमा बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता भएको थियो त्यसको १ महिना नबित्दै बेलबारीको २ र १० नम्बर वडामा फुटबल प्रतियोगिता भइरहेका छन् ।

बेलबारी–१० भाउन्नेस्थित डाँगीहाट गोल्डकपको तेस्रो संस्करण कात्तिक ३ गतेबाट हुने भएको छ । प्रतियोगिताको लागि चर्चित ८ टोली सहभागी हुने भएका छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, चर्च ब्वाइज युनाइटेड काठमाडांै, धरान एफसी सुनसरी, पाँचथर एफसी पाँचथर, डाँगीहाट फुटबल क्लब (नीलो), ब्वाइज युनियन काठमाडौं, डाँगीहाट फुटवल क्लब (रातो), जिपिएस्सी सिरहा गरी ८ टोलीले गोल्डकपमा उपाधीको लागि प्रतिष्पर्धा गर्ने भएका छन् । उद्घाटन खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।

गोल्डकपको उपाधी विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार र फाइनल खेलको म्यान अफ दि म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवर्ड र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुई वर्षअघि भएको डाँगीहाट गोल्डकपको पहिलो संस्करणमा आयोजक रातो विजयी भएको थियो भने गत वर्ष भएको डाँगीहाट गोल्डकपको दोस्रो संस्करणमा रारा फुटवल क्लब धनकुटा विजयी भएको थियो ।

पहिलो संस्करणमा जिल्लाका ८ टिम सहभागी थिए भने दोस्रो संस्करणमा प्रदेशका ८ टिम सहभागी थिए । यसपटक राष्ट्रिय स्तरका ८ टिम सहभागी रहने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताए । सो गोल्डकपमा सहभागी टिमको स्तर बढेसँगै पुरस्कार राशी पनि बढ्दो क्रममा रहेको छ । पहिलो संस्करणमा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार रहेको पुरस्कार राशी दोस्रो संस्करणमा क्रमशः १ लाख ५१ हजार र १ लाख रुपैयाँ रहेको थियो । यसपटक पुरस्कार राशी झन् बढाइएको आयोजकले जनाएको छ । प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा हुने गोल्डकप प्रतियोगिता १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष लिम्बूले बताए ।

यसैगरी कात्तिक १ गतेदेखि नै क्लबस्तरीय नकआउट प्रतियोगिता २ नम्बरको वागदेवी खेल मैदानमा हुँदैछ । सो प्रतियोगितामा ८ ओटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ । सिंहदेवी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५१ हजार र उप विजेताले ३१ हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्ने जनाइएको छ । खेल मैदानको स्तरोन्नति गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष तीर्थ न्यौपानेले बताए ।