बेलबारीः मोरङको बेलबारी –२ को सिंहदेवी युवा क्लबको आयोजनामा शुक्रबारदेखि नकआउट क्लबस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । ८ ओटा क्लबको सहभागिता रहेको प्रतियोगिताको शुरु दिनको खेलमा डाँगी फुटबल क्लब केराबारीले आयोजकलाई पराजित गरेको छ । २–१ गोलको अन्तरले आयोजकलाई घरेलु मैदानमा केराबारीले पारजित गरेको हो ।

खेल शुरु भएको केही सयममै आयोजकका अमृत कट्वालले १ गोल गरेका थिए । कट्वालबाहेक अन्य खेलाडीले गोल गर्न नसक्दा प्रतियोगिताबाटै आयोजक बाहिरिएको हो ।

खेलको मध्यान्तरसम्म कुनै गोल नगरेको केराबारीले मध्यान्तरपछि २ गोल गरेको थियो । डाँगी फुटबल क्लबका तर्फबाट उमेश राईले पहिलो गोल गर्दै खाता खोलेका थिए । उमेशले गोल गरेको केही समय नबित्दै केराबारीकै मनोज राईले थप एक गोल गर्दै जीतलाई सहज बनाएका थिए । म्यान अफ द म्याच केराबारीकै उमेश राई घोषित भएका छन् । प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले गरेकी थिइन् ।

९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सिंहदेवी युवा समूह, डाँगी फुटबल क्लब, हरैंचा स्पोर्टिङ क्लब, डाँगीहाट फुटबल क्लब, एपीएफ पूर्वाञ्चल, नरेन्द्र स्मृति क्लब, लेटाङ फुटबल क्लब, तथा बेलबारी फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफी, र मेडल प्राप्त गर्ने जनाइएको छ । खेल मैदानको स्तरोन्नति गर्न प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।