बेलबारीः मोरङको बेलबारी –२ मा सिंहदेवी युवा क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा एपीएफले आत्मघाती गोल गरेको छ । सो गोलले नरेन्द्र स्मृति क्लबलाई फाइदा पुगेको हो । २–० गोलको अन्तरले नरेन्द्र स्मृति क्लबले एपीएफलाई पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खेलको मध्यान्तरसम्म दुवै टिमले कुनै गोल गर्न सकेका थिएनन् । मध्यान्तरपछि नरेन्द्र स्मृति क्लबका दिवेश श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यसको जवाफ दिन एपीएफले कसरत गरे पनि खेल कमजोर हुँदा सफल हुन सकेको थिएन ।

खेलको सेन्चुरी समयमा नरेन्द्रका दिवस श्रेष्ठले एपीएफको पोष्टमा प्रहार गरेका थिए । श्रेष्ठले गरेको प्रहार रोक्न एपीएफका रेवती श्रेष्ठले प्रयास गरे पनि असफल बने । उनकै खुट्टामा ठोक्किएर आत्माघाती गोल हुन पुगेको थियो । शुरुमा एपीएफको खेल उत्कृष्ट रहे पनि मध्यान्तरपछाडि भने फितलो प्रदर्शन रह्यो ।

शनिबारको खेलमा म्यान अफ च म्याच नरेन्द्रका दिवस श्रेष्ठ भएका छन् । ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सिंहदेवी युवा समूह, डाँगी फुटबल क्लब, हरैँचा स्पोर्टिङ कल्ब, डाँगीहाट फुटबल क्लब, एपीएफ पूर्वाञ्चल, नरेन्द्र स्मृति क्लब, लेटाङ फुटबल क्लब, तथा बेलबारी फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्ने जनाइएको छ । खेल मैदानको स्तरोन्नति गर्न प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।