बेलबारीः बेलबारी–१० भाउन्नेमा भइरहेको डाँगीहाट गोल्डकपको तेस्रो संस्करणको आइतबारको प्रतियोगितामा चर्च ब्वाइज काठमाडौ विजयी भएको छ । आइतबार भएको खेलमा मेची नेत्रालय काँकरभ्टिटा फुटबल ट्रेनिङ सेन्टरलाई टाईब्रेकरमा हराउँदै चर्च ब्वाइजले आफनो यात्रा सुरक्षित गरेको हो ।

खेलको मध्यान्तरसम्म कुनै गोल नगरेका दुवै समूहका खेलाडीले मध्यान्तरपछि भने एक÷एक गोल गरेका थिए । ४९ औँ मिनेटमा मेची नेत्रालयका कर्ण लिम्बूले आफ्नो टिमका लागि एक गोल गरेका थिए ।

मेची नेत्रालयले गोल गरेको गरेको ८ औँ मिनेटमा चर्च ब्वाइजका मिलन राईले गोल फर्काएर बराबरीमा रोकेका थिए । सन्तोष न्यौपानेको पासमा उनले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका मिलन राई भएका छन् । सोमबारको खेल धरान फुटबल क्लब र जीपीएस्सी सिरहाबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ३० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार र फाइनल खेलको म्यान अफ दि म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दुई वर्षअघि भएको डाँगीहाट गोल्डकपको पहिलो संस्करणमा आयोजक रातो विजयी भएको थियो भने गत वर्ष भएको डाँगीहाट गोल्डकपको दोस्रो संस्करणमा रारा फुटबल क्लब धनकुटा विजयी भएको थियो ।

पहिलो संस्करणमा जिल्लाका ८ टिम सहभागी थिए भने दोस्रो संस्करणमा प्रदेशका ८ टिम सहभागी थिए । यसपटक राष्ट्रिय स्तरका ८ टिम सहभागी रहेको आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताए ।

पहिलो संस्करणमा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार पुरस्कार रहेको थियो । दोस्रो संस्करणमा क्रमशः १ लाख ५१ हजार र १ लाख रुपैयाँ पुरस्कार रहेको थियो ।

यसपटक पुरस्कार राशी दोब्बर बनाइएको आयोजकले जनाएको छ । प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा भइरहेको गोल्डकप कात्तिक १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।