बेलबारीः बेलबारी–१० भाउन्नेमा जारी डाँगीहाट गोल्डकपअन्तर्गत सोमबर भएको खेलमा धरान फुटबल क्लब विजयी भएको छ । सिरहाको जीपीएस्सीलाई ३–१ गोलले अन्तर पाखा लगाउँदै धरान विजयी भएको हो ।

खेलको ३२ औँ मिनेटमा धरानका प्रकाश बुढाथोकीको पासमा वर्तमान राईले पहिलो गोल गर्दै धरानका लागि खाता खोलेका थिए । ४८ औ मिनेटमा सिरहाका बुद्ध चेम्जोङले एक गोल गर्दै धरानसँगको खेल बराबरी बनाएका थिए । ५५ औँ मिनेटमा धरानका सनम आलेले १ गोल थपेका थिए । खेलको इन्जुरी समयमा वर्तमान राईको पासमा सनम बुढाथोकीले पुन गोल थपेका थिए । यो जीतसँगै धरानले सेमीफाइनलको यात्रा तय गरेको छ ।

खेलको ४९, ५० र ५२ औँ मिनेटमा सिरहाका बुद्ध चेम्जोङले धरानको गोल पोष्टमा प्रहार गरे पनि किपरले लगातार सबै प्रहार नियन्त्रणमा लिएपछि यो संस्करण सिरहाका लागि समाप्त भएको थियो । खेलको मध्यान्तरपछि सिरहाका खेलाडीले गोललाई आफनो पकडमा लिन खोजे पनि त्यो प्रयास भने असफल बन्यो ।

सोमबार भएको खलेको म्यान अफ द म्याच धरानका प्रकाश बुढाथोकी भएका छन् । मङ्गलबार आयोजक नीलो र ब्वाइज युनियन काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ३० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार र फाइनल खेलको म्यान अफ दि म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने छ ।