बेलबारीः आयोजक नीलोलाई हराउँदै ब्वाइज युनियन काठमाडौ मोरङको भाउन्नेमा भइरहेको तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।

मङ्गलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा ७–६ गोल अन्तरले आयोजकलाई पाखा लगाउँदै ब्वाइज युनियन काठमाडौ विजयी भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको थियो । टाइब्रेकरमा समेत बराबरी गोल भएपछि खेल सडेन डेथमा धकेलिएको थियो ।

टाइब्रेकरमा ब्वाइज युनियनका मिलन लिम्बू, फो फानो, सुजन शर्मा, सकल रेग्मी, टपन कार्की र राजीव गुरुङले गोल गर्दै टिमलाई अन्तिम चारमा पु¥याएका थिए । आयोजकका पारस खत्रीले टाइब्रेकरमा हानेको गोल पोष्टको छेउमा ठोक्किएर आउट भएको थियो । ब्वाइज युनियनका टङ्क लामाले गरेको प्रहार किपरले रोकिदिएका थिए । आयोजकका विक्रम तामाङले हानेको गोल पोष्ट बाहिर गएपछि ब्वाइज युनियनका लागि तेस्रो डाँगीहाट गोल्डकपको सेमीफाइनलमा पुग्ने यात्रा सजिलो भएको छ । आयोजकका अरुण लिम्बू, कासिम राई, मौसम लिम्बू, शङ्कर राई र आशिम राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ४७ औँ मिनेटमा आयोजकका मौसम लिम्बूले रिबाउड बलमा गोल प्रहार गर्न सफल भएर आफ्नो टिमको खाता खोल्न सफल भएका थिए ।

त्यसैगरी खेलको ५३ औँ मिनेटमा ब्वाइज युनियनका फो फनले हेडिङ मार्फत् प्रहार गरेको बलले जाली चुम्न सफल हुँदै खेललाई बराबरीमा रोकेको थियो । खेलमा म्यान अफ द म्याच ब्वाइज युनियनका तपन कार्की घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पाए ।

बेलबारी–१० भाउन्नेमा जारी गोल्डकप १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताए । ८ ओटा टिमले सहभागिता जनाएको प्रतियोगिताको बुधबार हुने अन्तिम क्वाटरफाइनल खेल पाँचथर फुटबल क्लब पाँचथर र डाँगीहाट फुटबल क्लब (रातो) बीच हुनेछ ।