इटहरी ः खोला तथा इट्टा भट्टामा मजदुरी गरि दैनिक जीवन यापन गरिरहेका मजदुर अभिभावकहरुका छोराछोरी अध्ययन गर्ने मोरङको उर्लावारी ६ दुर्गा चौंकमा संचालित दुर्गा माध्यामिक विद्यालयमा गरिमा विकास बैंकले मंगलवार न्यानो कपडा वितरण गरेको छ ।
मुख्य राजमार्गबाट ५ सय मिटर दुरीभित्र पर्ने सो विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने मजदुरका छोराछोरीहरुलाई विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकले न्यानो कपडा वितरण गरेको हो ।
उर्लावारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले १ सय ७३ जना विद्यार्थीहरुलाई सुइटर प्रदान गरे । उनले विद्यालयलाई बालबालिकाहरुका लागि खर्च गर्ने गरि ५० हजार नगद प्रदान गर्ने घोषणा पनि गरे ।
०३९ सालमा स्थापना भएको दुर्गा माविमा यतिबेला सिभिल इन्जिनियर समेत पढाई हुन्छ । गरिब मजदुरका छोरा छोरी पढ्ने भएकाले विद्यालयलाई वेवास्था भईरहेको बेला जाडो याम शुरु हुने वित्तिकै गरिमा विकास बैंकले उर्लावारी शहरमा शाखा विस्तार गरेको महिना दिन नवित्दै दुर्गा मावि छनौट गरेर बैंक समाजिक कार्यमा समाजसंगै छ भन्ने प्रमाण पेश गरेको विद्यालयकी प्रध्यानध्यापिका शारदा पाण्डे कार्कीले बताइन् ।
न्यानो कपडा वितरण कार्यक्रममा सहभागी उर्लावारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले उर्लावारी नगर क्षेत्रमा थुप्रै बैंक संचालनमा आएपनि गरिमा विकास बैंकले जस्तो गरि सामाजिक कार्यमा संलग्न भएको आफुले पहिलो पटक पाएको बताइन् । उनले गरिमा विकास बैंकले उर्लावारी भित्रका २२ सामुदायिक विद्यालय मध्ये अति पिछडिएको दुर्गा माविलाई छनौट गरेर आफुलाई भिन्न बैंकका रुपमा दर्ज गराएको उपमेयर भण्डारीले बताइन् ।
उपमेयर भण्डारीले भनिन् –‘गरिमा विकास बैंकको समाजिक कार्यबाट उर्लावारीका अन्य बैंकहरुले पनि पाठ सिकुन । गरिमाको जस्तो सहयोगी मनहरु अन्य बैंकहरुको पनि पलाओस् ।’
बैंकहरु भनेका नाफा कमाउन मात्र स्थापना भएका हुन् भन्ने कुरालाई गरिमा विकास बैंकले तोडेको उपमेयर भण्डारीले बताइन् । उनले विद्यालयको शैक्षिक अवस्था र भौतिक अवस्था सुधारका लागि आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्ने बताइन् । उनले उर्लावारी नगरपालिकाको आगामी नगरसभाबाट सिमान्तकृत समुदायका छोरीहरुका नाममा १ हजारको खाता खोली उनिहरुको विकासमा केही कार्य गर्ने योजना पेश गर्ने योजना रहेकाले त्यसताका गरिमा विकास बैंकसंग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाइन् ।
गरिमा विकास बैंकका धरान कलष्टर प्रमुख मीनप्रसाद सुवेदीले गरिमा विकास बैंकको समाजिक उत्तरदायित्व अन्र्तरगत उर्लावारी शाखाको पहलमा दुर्गा माविस छनौट गरि समाजिक कार्यमा सानो सहकार्यको थालनी गरेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकहरु कहिले पनि संचालकहरुको नहुने बताए । उनले बैंक सधैभरी जनताकै हुने बताए । उनले भने जनताबाट पैसा संकलन गरि जनतालाई नै लगानी गर्ने भएकाले बैंक संचालक नभई जनताकै भएको आफ्नो र गरिमा विकास बंैकका संचालकहरुको धारणा रहेको बताए । उनले दुर्गा माविसंग समाजिक रुपमा सहकार्य गर्न पाउदा गरिमा विकास बैंकले गर्वअनुभुति गरेको बताए । उनले आगामी दिनहरुका पनि बैंक गरिब दुःखीहरुकै साथमा रहने बताए ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुईकेल, स्थानीय अभिभावकका तर्फबाट गंगा बास्तोला लगायतले आ आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा गरिमा विकास बैंकका विभागिय प्रमुख नविन प्याकुरेल ,उर्लावारी शाखा प्रमुख वेदप्रसाद बास्तोला, इटहरी शाखा प्रमुख रक्षा भट्ट , दमक शाखा प्रमुख बिशाल बिष्ट, विराटचौंक ज्योति खनाल, विराटनगर योगेन्द्र गच्छदार र गरिमा विकास बैंक धरान कलष्टर कार्यालयका सुदिप अर्चाय लगायतको सहभागीता रहेको थियो ।