बेलबारीः मोरङ फुटबल एकेडेमी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी–११ स्थित लक्ष्मीमार्गको लक्ष्मी खेलमैदानमा आज भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ० का विरुद्ध ५ गोलले हराउँदै मोरङ फुटबल एकेडेमीले आफूलाई अन्तिम चारमा पु¥याउन सफल भएको थियो ।
सोमबारको खेलमा युनाइटेड खरसाङको फुटबल टिमलाई मोरङ एकेडेमीका लागि एउटा गतिलो प्रतिस्पर्धीको रूपमा हेरिएको भए पनि दर्शकको आशाअनुसार खरो रूपमा उत्रन भने खर्साङ सकेन ।
वर्षाका कारण हिलाम्य बनेको मैदानमा पाहुना टोली खर्साङले सन्तोषजनक खेल पस्कन नसकेको फाइदा मोरङ फुटबल एकेडेमीले राम्ररी लिन सक्यो ।
एकेडेमीका कप्तान सन्तोष न्यौपानेले ह्याट्रिक गरे भने कर्ण लिम्बू र सौजन राईले १÷१ गोल गरे ।
सन्तोष न्यौपानेले खेलको १६ औं मिनेटमै गोलको खाता खोलेर मोरङलाई अग्रता दिलाएका थिए । पहिलो गोल भएको ३ मिनेटमै मोरङका कर्ण लिम्बूले गोल गरेर आफ्नो टिमको अग्रतालाई दोब्बर बनाएका थिए ।
विपक्षी खेलाडीले ‘क्लियर’ गर्न नसकेको फाइदा लिँदै उनले बललाई नियन्त्रणमा लिएर गोल गर्दा मोरङ २–० गोल अन्तरले अघि बढ्न सफल भएको थियो ।
विरेन प्रधानले डिबक्स भित्र मोरङका शौजन राईलाई फल गरेपछि ७० औं मिनेटमा रेफ्रीले मोरङलाई पेनाल्टी सुटआउटको अवसर दिएका थिए । सन्तोषले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक निगम सिंहलाई ठोक्किएर रिबाण्ड भए पनि पुन सन्तोषले नै त्यसलाई पोष्टको दिशा दिँदा अर्को गोल थपिएको थियो ।
खेलको ७३ औं मिनेटमा मोरङले अर्काे गोल गरेर खेललाई ४–० को अन्तरमा पु¥याएको थियो । वान टु वान पासको मद्दतबाट गोल थप्दै सन्तोषले ह्याट्रिक गरेका थिए ।
प्रतियोगितामा राम्रै प्रस्तुति देखाए पनि कुनै गोल गर्न नसक्दा खर्साङ घर फर्कन बाध्य भएको हो । आजको खेलको म्यान अफ दी म्याच सन्तोष न्यौपाने घोषित भए ।
भोलिको खेल रेडहर्ष क्लब इलाम र अण्डर १८ राष्ट्रिय टिमबीच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए ।