बेलबारीः रेड हर्स क्लब इलाम मोरङको लक्ष्मीमार्गमा सञ्चालन भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप २०७५ मा आफूलाई अन्तिम चारमा समेट्न सफल भएको छ ।

भदौ २३ गते शनिबारदेखि बेलबारी – ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा चलिरहेको गोल्डकपमा अण्डर १८ ९ यु (१८० को राष्ट्रिय टिमलाई ४ का विरुद्ध ५ गोलले हराउँदै रेड हर्स सेमिफाइनलमा पुग्न सफल भएको हो ।

यसअघि नै चर्च ब्वाइज काठमाडौ, मोरङ एकेडेमी र बिर्तामोड टिम सेमिफाइनलमा पुगिसकेका छन् ।
मङ्गलबार भएको खेलमा दुवै टिमबीच कडा प्रतिष्पर्धा देखिए पनि निर्धारित अवधिभर कुनै गोल हुन सकेन । त्यसपछि, खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि ४÷४ गोलको बराबरी भएपछि खेलको छिनोफानो गर्न सडन डेथसम्म पुग्नुपरेको थियो ।
इलामको जीतमा गोलरक्षक मनोज प्रधानको ठूलो हात रहेको थियो । सडन डेथमा विपक्षी खेलाडीको प्रहारलाई उत्कृष्ट ढङ्गबाट बचाउँदै खेलको म्यान अफ दी म्याच घोषित प्रधानले आफूलाई नायक साबित गर्न सफल भएका थिए ।

टाइब्रेकरमा इलामका तर्फबाट गोल गर्नेमा प्रदीप विष्ट, पिकेश लिम्बू, हिसब खतिवडा र रोमन भुजेल थिए भने यु–१८ का दिनेश हेन्जन, मनिष थापा, रन्दिप पौडेल र नवीन गुरुङ थिए ।

खेलअवधि भर उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा लिए पनि फिनिसिङ फितलो हुँदा यु–१८ ले नतिजा आफ्नो हातमा पार्न सकेन ।

FB_IMG_1536680224305

बारम्बार पाएका अवसरहरु पनि यु १८ ले सदुपयोग गर्न सकेन । २३ औं मिनेटमा बुद्ध बल तामाङको प्रहार आकाशिँदा गोल गर्ने अवसरबाट र ४० औं मिनेटमा नितिन थापा वान भर्सेस वानमा चुक्दा पनि यु (१८का लागि दुर्भाग्यपूर्ण बन्यो ।

खेलको सुरुवातमा उत्कृष्ट खेल पस्किएको इलामले मध्यान्तरपछि भने पोष्ट एट्याकको अवसर समेत पाउन सकेन । २० मिनेटमा हिसाब थपलियाको प्रहार क्रस बारमाथिबाट बाहिरिँदा इलाम अग्रता लिनबाट चुक्यो । २३ औं मिनेटमा मिलन धिमालको प्रहार क्रस बारमा लागेर फर्किंदा इलामले निर्धारित समयमा जीत निकाल्न सकेको थिएन ।

बुधबारदेखि सेमिफाइनल खेल शुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाडौं र मोरङ फुटबल एकेडेमीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।