धरानः  भक्तपुरमा सोमबार सम्पन्न त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको उपाधि धरानको महेन्द्र बहुमुखी क्याम्पसले हात पारेको छ । भक्तपुर बहुमुखी क्याम्पसद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पसले भक्तपुरको सैनिक आवासीय महाविद्यालयलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता महेन्द्र बहुमुखी क्याम्पसले उपाधिसँगै नगद ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता सैनिकले ३५ हजार रुपैयाँ पाएको छ । ९० मिनेटको निर्धारित खेल एक–एक गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमार्पmत् खेलको नतिजा निकालिएको हो ।
टाइब्रेकरमा पहिलो पेनाल्टी प्रहार गर्न सैनिकबाट आएका करण श्रेष्ठ गोल गर्न असफल भएपछि सैनिकले उपाधिबाट वञ्चित हुनु परेको हो । सैनिकको पहिलो पेनाल्टी प्रहार रोकेका महेन्द्र बहुमुखीका गोलरक्षक रोहित भुजेल उत्कृष्ट गोलरक्षक बन्न सफल भए । त्यस्तै महेन्द्रकै सन्दीप गुरुङ उत्कृष्ट खेलाडी र पदमबहादुर विष्ट उत्कृष्ट मिडफिल्डर घोषित भए । यसैगरी सैनिकका नवीन थापाले उत्कृष्ट डिफेन्डर र औसत थापाले उत्कृष्ट स्ट्राइकरका रूपमा पुरस्कार प्राप्त गरे । सर्वाधिक गोलकर्ताका रूपमा पिपल्स क्याम्पसका धीरज केसीले पुरस्कार जिते । उनले प्रतियोगिताभरि १० गोल गरेका छन् । अनुशासित टीमको पुरस्कार भने के एन्ड के कलेजले हात पारेको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने देशभरिका २३ कलेजहरू सहभागी भएको प्रतियोगिताका विजेता र उपविजेता कलेज तथा उत्कृष्ट खेलाडीहरूलाई भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा. कृष्णप्रसाद पोखरेलले पुरस्कार वितरण गरेका थिए । उपाधि जित्ने क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्ने नियम छ । यस नियमअनुसार आगामी प्रतियोगिता धरानको महेन्द्र बहुमुखी क्याम्पसले आयोजना गर्नुपर्नेछ ।