विराटनगरः दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा प्रदेश ५, बाग्मती र नेपाल आर्मी विजयी भएका छन् ।
नेपाल हक्की संघले विराटनगर स्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । प्रदेश ५ का लागि म्यान अफ द म्याच अमन कुमारले ८ र ५४ औं मिनेटमा गोल गरे भने २० र ४८ औं मिनेटमा राजन कुमार गोल थपे । त्यस्तै ३४ र ३९ औं मिनेटमा मनिष गुरुङले गोल गर्दै टिमलाई विजय दिलाए ।
त्यसैगरी, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित गरेको छ । बागमतीका समिर घिमिरेले ५३ औं मिनेटमा गोल गरे भने म्यान अप द म्याच सुरज घर्ती मगरले ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
त्यस्तै तेस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ । आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ र ४६ औं मिनेटमा रोमन रानाले गोल गरे भने ५८ औं मिनेटमा नरेन्द्र कार्कीले गोल गर्दै टिमलाई विजयी दिलाए । खेलको म्यान अफ द म्याच रोमन राना भए ।
प्रतियोगितामा एक विभागीय सहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल बागमती प्रदेश र नेपाल आर्मी, दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश २ तथा तेस्रो खेल सुदूरपश्चिम प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।