धरानः हिसान स्पोर्टस मिट २०७६ मा विद्यालयको तर्फबाट सर्वाधिक पदक विजेता विद्यार्थीहरुलाई एम्स एकेडेमीले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
एकेडेमीका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई डिनर सहितको खुसीयाली बधाई समारोह बिहीबार सम्पन्न गरेको हो । हिसान स्पोर्टस् मिट २०७६ मा एम्स एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको थियो । एम्स एकेडेमीले फुटलब, भलिबल र बास्केटबलमा स्वर्ण पदक जितेको थियो । विजेता खेलाडी, प्रशिक्षक तथा प्रतियोगितामा सहभागी खेलाडीहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि किशोर राईले खेलकुदमा विजयी भएर खेलाडीहरुको सम्मान तथा प्रोत्साहनमा आयोजना गरिएको कार्यक्रमले आफुलाई खुसी लागेको बताए । उनले खेलाडीहरुले अब खेलेरै जीविका चलाउने समय आएको र अब्बल खेलाडीहरुको जीवन उच्च स्तरको भइरहेको समेत स्मरण गराएका थिए । हिसानका अध्यक्ष मुकुन्द घिमिरेले हिसान स्पोर्टस् मिटको ४० प्रतिशत पुरस्कार एम्स एकेडेमीले जित्न सफल भएको जानकारी गराउँदै खेलकुदको क्षेत्रमा एम्स एकेडेमीले अतुलनीय योगदान दिएको बताए । कार्यक्रम समापन गर्दै एम्स एकेडेमीका अध्यक्ष प्रकाश राईले एम्स एकेडेमीले सधै विद्यार्थीहरुलाई खेल क्षेत्रमा लाग्न हौसला र प्रोत्साहन दिइरहेको बताए । उनले एम्स एकेडेमीले खेल क्षेत्रमा गरेको लगानी अनुरुप नतिजा आइरहेको तर्फ समेत संकेत गरेका थिए । बृटिश कम्युनिटी हल धरानमा भएको कार्यक्रममा धरानका विद्यालय सञ्चालक, हिसानसँग आवद्ध पदाधिकारी, सञ्चारकर्मी एवं खेलकुद संस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।