धरानः प्रदेशकै प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप ‘क’ श्रेणीमा परे पछि पुरस्कार राशी पनि बढेको छ ।
धरान फुटबल क्लबको आयोजनामा २१ वर्ष देखि आयोजना हुँदै आएको फुटबल प्रतियोगिता यस वर्ष प्रदेशमै एक मात्र ‘क’ श्रेणीको प्रतियोगितामा परेको छ । मोफसलमा हुने प्रतियोगिताका लागि एन्फाले बनाएको नियम अनुसार बुढासुब्बा गोल्डकप ‘क’ श्रेणीमा परे पछि मापदण्ड अनुसार प्रतियोगिताको विजेता राशी १० लाख पुर्याएको हो । विजेता पुरस्कार राशी सहित प्रतियोगितामा सहभागि हुन आउने खेलाडिहरुको सेवा सुविधामा बढेको छ । फागुन १० गते देखि हुने प्रतियोगिताको २२ औं संस्करणको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैया पाउने भएका छन् । त्यसै व्यक्तिगत विधा तर्फका विजेताहरुको पुरस्कार राशि पनि बढेको क्लबका अध्यक्ष किशोर राईले बताए । उनले भने, ‘क श्रेणीमा परे पछि सेवा सुविधाहरु पनि बढाउनुपर्ने हुन्छ, पुरस्कार राशी पनि वृद्धि भएको छ, चुनौतीपुर्ण रहे पनि गोल्डकपको साख जोगाउन पनि प्रतियोगिता गराउँछौं ।’
आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरेर फागुन १० गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । यसअघि मंसिर १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर धरानको उपनिर्वाचनका कारण स्थगित भएको थियो । प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा हुनेछ ।
प्रतियोगितामा जापान र भारतका दुई क्लबहरु सहित नेपालका ६ टिम सहभागि हुने भएका छन् । नेपाली टिमहरु एमएमसी क्लब काठमाण्डौं, मच्छिन्द्र क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, मुख्यमन्त्री कप लीग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकडभित्ता फुटबल ट्रेनिङ सेन्टर झापा र आयोजक धरान फुटबल क्लब रहेका छन् ।
एकै समयमा तिन स्थानमा गोल्डकप प्रतियोगिता हुने भएकाले राष्ट्रिय टिमहरु पनि विभाजन भएका छन् । त्यसैले अघिल्लो संस्करणमा आएका केही राष्ट्रिय क्लबहरुले सहभागि जनाउन नसकेको अध्यक्ष राईले बताए । यो सँस्करणमा भिडियो एसिस्टेन्ट रेफ्री (भि.ए.आर.) प्रविधिको पनि प्रयोग गरिने उनले बताए ।
प्रतियोगितामा व्यक्तिगत विधा तर्फ उत्कृष्ठ खेलाडिले डिइओ स्कुटर, प्रत्येक खेलको म्यान अफ द म्याचले १५ हजार, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ठ प्रशिक्षकले २५ हजार रुपैया पुरस्कार राशी रहेको छ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैया पाउने छन् ।
टुबोर्ग बियर मुख्य प्रायोजक रहेको प्रतियोगितामा काबरा ग्रुप, सुनसरी टेक्निकल कलेज, बराह ग्रुप लगायतका कम्पनीहरुले सह प्रायोजन गरेका छन् । प्रतियोगिताको अनुमानित आय ९० लाख रुपैया रहेको छ भने अनुमानित व्यय ७४ लाख ५५ हजार रहेको छ ।