इटहरीः जिल्ला फुटबल सङ्घ सुनसरीको आयोजनामा एन्फा ग्रासरूट फुटबल फेस्टिभल शुरु भएको छ । इटहरीस्थित खेलमैदानमा सो फेस्टिभल उद्घाटन भएको हो ।

बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति जागरुक बनाउन फेस्टिभल आयोजना गरिएको कार्यक्रम संयोजक कोबितजङ्ग कार्कीले बताए । हरेक ४ वर्षमा आयोजना हुने फेस्टिभलले फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

foot.jpg2

सो कार्यक्रममा ८ देखि १२ वर्षसम्मका बालबालिका सहभागी हुने उनले जानकारी दिए । फेस्टिभलका लागि केही सामग्रीहरू एन्फाले दिने र बाँकी सामग्री विद्यालय तथा व्यापारीबाट सहयोग लिइने उनले जनाए । केही दिन खेल्न इच्छुक विद्यार्थी छनोट गर्ने र त्यसपछि हरेक शनिबार खेल प्रशिक्षण गराइने कार्कीले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष किशोर राईले फुटबललाई व्यावसायिक बनाउनको लागि खेलाडीको क्षमता वृद्धि गर्नुपर्ने बताए । यस्ता कार्यक्रमबाट क्षमतावान खेलाडी उत्पादन हुने उनको भनाइ थियो ।

foot