धरानः सुनसरी जिल्लाकै उत्कृष्ठ ठहरिएको धरान १२ स्थित पब्लिक हाई स्कुलको ७३ औ बार्षिकोत्सबको अबसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार भएको मिनी म्याराथुन प्रतियोगितामा छात्रा तर्फ सुजता राई र छात्र तर्फ मन कुमार राई प्रथम भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले रिबन काटेर उदघाटन गरेको म्याराथुनमा छात्रा तर्फ दोस्रो गंगा लिम्बु र तेस्रो सुस्मिता राई भए । यता छात्र तर्फ विमान लिम्बु दोस्रो र अनिल तामाङ तेस्रो भए । विजेता खेलाडिहरुलाई विहिबार हुने वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद रहेको छ ।
म्याराथुनमा छात्र र छात्रा गरि १ सय १९ जना सहभागी भएको शिक्षक बिरेन्द्र बहादुर साहले जानकारी दिए । छात्रको लागि बिद्यालय अगाडिबाट शुरु भइ मंगलबारे, बीच घोपा, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक, सैनिक चोक, चतरालाइन हुदै बिद्यालय सम्म ५ दशमलब ४ किलोमिटरको दुरी तय गरिएको थियो । छात्राको लागि भने रत्न चोक पुर्ब विद्यालय सम्मको ३ किलोमिटरको दुरी तय गरिएको थियो ।
प्रतियोगिता पछि विद्यार्थीहरुको सहभागीतामा विद्यालय आउने जाने प्रमूख सडक चतरालाईनको सरसफाई समेत गरिएको थियो । बिहिबार हुने वार्षिक उत्सवको समापन समारोहमा प्रगति प्रतिवेदन प्रस्तुत, छात्रवृत्ति प्रदान र पुरस्कार वितरण कार्यक्रम राखिएको छ । विद्यार्थीहरुबाट तयार गरिएको खाद्य परिकार, साईन्स तथा ईलेक्ट्रोनिक प्रर्दशनी समेत राखिएको छ । विद्यालयबाट सम्पूर्ण अभिभावक तथा आमन्त्रित महानुभावहरुलाई अनिवार्य सभागिताका लागि विद्यालयले अनुरोध गरेको छ ।
बिद्यालयमा पढ्ने र पढाउने मात्र नभई बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका साथै परोपकार र सामाजिक भावनाको बिकास गराउने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झाले बताए । २००३ सालमा स्थापित विद्यालय यस वर्षको सुनसरीकै नमुना विद्यालय विकासको रुपमा छनौटमा परेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने कुरामा जोड दिईएको छ । निजि विद्यायमा महंगो शुल्क तिरेर पढ्नु पर्ने बाध्यताबाट कम आर्थिक अवस्था भएकाहरुले राहत पाउने झाले बताए ।