धरानः मोफसलकै प्रतिष्ठित २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको टिकट अब अनलाइनबाटै पनि काट्न सकिने भएको छ ।
धरान फुटबल क्लबको आयोजनामा फागुन १० गते देखि धरानको प्रस्तावित प्रादेशिक रंगशालामा संचालन हुने गोल्डकपका लागि अनलाइन मार्फत आइएमइ पे तथा युनिक ट्राभल्स एण्ड टुर्स आइएमइको सहकार्यमा गोल्डकपको टिकट खरिद गर्न सकिने बनाइएको क्लबका महासचिव प्रताप तामाङले बताए । आइएमइ पे को एप डाउनलोड गरी घरैमा बसेर टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको हो । अनलाइनबाट टिकट खरिद गर्दा ३० रुपैया क्यास ब्याक हुने समेत क्लबले जनाएको छ ।
प्रतियोगितामा दुई विदेशीसहित ८ टिम सहभागी हुने छन् । क्लबका अनुसार मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, प्रदेश नं १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबले सहभागीता जनाउनेछ । यस्तै, विदेशी टिमको रुपमा जापान फुटबल लिग टिम र युके एफसि भारतले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ । यसैगरि, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।