धरानः मोफसलकै पुरानो प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं संस्करणमा भारतीय दुई क्लब सहित ८ वटा क्लबहरु सहभागी हुने भएका छन् ।
धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा धरान फुटबल क्लबको आयोजनामा फागुन १० गते देखि १७ गते सम्म हुने फुटबल प्रतियोगितामा भारतका युके एफसी भारत र दुर्गापुर वेष्ट बंगालले सहभागिता जनाउने भएको छ भने नेपाली टिमहरु एमएमसी, मछिन्द्र, नेपाल पुलिस, बेलबारी फुटबल क्लब मोरङ, मेची नेत्रालय काँकटभित्ता फुटबल ट्रेनिङ सेन्टर झापा र आयोजक धरान फुटबल क्लबले सहभागिता जनाउने पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । जापानिज टिम सहभागि हुने भनिए पनि पछिल्लो समय कोरोना भाइरसका कारण आउन नमानेको जानकारी दिदै क्लबका अध्यक्ष किशोर राईले भारतका उत्कृष्ठ टिम सहभागी हुने बताए ।
गोल्डकप प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको जानकारी दिदैं विहिबार पत्रकार सम्मेलनमा अब प्रतियोगिताको उदघाटन मात्र हुन बाँकी रहेको बताए । प्रतियोगितालाई भव्य र उत्कृष्ठ बनाउन यस वर्ष खेलमैदानलाई पुर्ण रुपमा घाँसे मैदान बनाइएको छ भने रंगशालालाई व्यवस्थीत गरिएको छ । प्रतियोगितामा यस वर्ष देखि ७० वर्ष माथिका ज्येष्ठ पुरुष र ६० वर्ष माथिका ज्येष्ठ महिलालाई निशुल्क प्रवेश गराउँदै सम्मानजनक स्टेजमै राखेर फुटबल हेर्न व्यवस्था गरिएको छ ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ७ हजार दर्शक अट्ने प्याराफिट समेत तयार भइसकेको छ । युट्युबबाट पनि लाइभ हेर्न सकिने व्यवस्था गरिएको छ । प्रतियोगिताको उदघाटन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गर्नेछन् भने गायक मनोज मोते र रोहित मास्केको सांगितिक प्रस्तुती सहित हिमशिखर बोडिङ स्कुल तरहराका विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गर्नेछन् ।
प्रतियोगिताको उदघाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युके फुटबल क्लब बिच हुने भएको छ । प्रतियोगगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले होन्डाको डियो स्कुटर प्राप्त गर्ने बताइएको छ । व्यक्तिगत पुरस्कारतर्फ प्रत्येक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ पाउनेछ । साथमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् । यसकासाथै सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।