धरानः देशकै सबै भन्दा बढी धावकहरु एकै साथ दौडने म्याराथुन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।
विगत ८ वर्ष देखि धरान रनको आयोजनामा हुँदै आएको यस वर्षको प्रभु बैंक धरान टेन के रन आठौं नेवा च्यारिटी २०७६ को सम्पुर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ । फागुन १० गते शनिबारका दिन हुन लागेको १० किलोमिटरको दौड प्रतियोगितामा नेपालभित्रका मात्र नभएर विदेशबाट पनि धावकधाविकाले सहभागिता जनाउने भएका छन् । धरान रनका अध्यक्ष रमु राईले हङकङबाट ४, बङ्गलादेशबाट ३, अफ्रिकन नागरिक १ र मलेसियाबाट २ जनाले दौडमा भाग लिने बताए । यस्तै सहभागिहरूलाई प्रोत्साहन गराउन क्यान्सर रोगलाई जितेर आएका पाण्डव महतोले समेत दौडने छन् । उनी युकेबाट आएका हुन् । नेपालकै सर्वाधिक धावक धाविका दौडने उक्त च्यारेटी रनमा यसवर्ष ४ हजार धावक धाविकाले दौडने अनुमान गरीएको छ । जसमा यसपटक मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडाले समेत सहभागिता जनाउने छिन् ।
उक्त च्यारेटी रनमा यसपटक दौड पुरा गर्ने पहिलो २ हजार धावकहरूलाई मेडल वितरण गरीनेछ । हङकङबाट ल्याइएको चाँदी रंगको उक्त मेडलमा मानिस कुदेको आकृती खोपिएको छ । धरानको इतिहासमा नै पहिलो पटक धरान रनले धावकहरूलाई प्रोत्साहन गर्नका लागी उक्त मेडल प्रदान गर्न लागिएको हो । मेडल भने अन्य उमेर समूहभन्दा बालबालिकाहरुलाई बढी प्रदान गरीनेछ । रनको विजेताको लागी भने सुरूवात देखि नै युकेबाट स्वर्ण, रजत र कास्य पदक ल्याइने गरेको छ ।
नेवा च्यारेटी रनमा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुने विजयी पुरुष र महिलालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार सहित मेडल प्रदान गरीने धरान रनका अध्यक्ष राईले जानकारी दिए । यसपटक खुल्लाको प्रथम तर्फको नगद पुरस्कारमा १० हजार बढाइएको हो । यसका साथै १२ वर्ष, १६ वर्ष र भेट्रान तर्फ प्रथम, दोस्रो र तेस्रो हुने विजयी पुरुष र महिलालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार सहित मेडल प्रदान गरीनेछ भने सुपर भेट्रान र धरानको लोकल विजेतालाई उपहारहरू प्रदान गरीनेछ । हरेक वर्ष झै यसपटकको सम्मान कार्यक्रममा १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल धरानका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान समेत गरीने भएको छ ।