धरानः प्रदेशकै प्रतिष्ठित मानिएको धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा विभागिय टिम नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् ।
धरान फुटबल क्लबको आयोजनामा प्रदेशकै प्रस्तावित प्रादेशिक रंगशालामा भएको अन्तिम सेमिफाइलनमा लिग बिजेता मच्छिन्द्र क्लब काठमाण्डौलाई सडेन डेथमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । गत बुधबार भएको खेलमा भारतको खरसाङ फुटबल क्लबलाई हराउँदै मनाङ फाइनलमा पुगेको हो । शनिबार हुने फाइनलमा मनाङ र पुलिस उपाधिका लागि भिड्ने भएका छन् ।
लिग बिजेता मच्छिन्द्र क्लब काठमाण्डौ र बिभागिय टिम नेपाल पुलिस क्लब बिच विहिबार सम्पन्न अन्तिम सेमी फाईनल खेलमा निर्धारित समयमा दुबै तर्फबाट गोल रहित बराबरीमा सकिए पछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा पनि बराबरी गोल भए पछि खेल सडनडेथमा पुगेको हो । अन्तिम सेमीफाइनल खेलमा मछिन्द्रलाई सडन डेथमा ५–४ ले हराउदै पुलिस फाइनल पुगेको हो । कपिल ढकालले निर्णायक गोल गर्दा मछिन्द्रका कप्तान विराज महर्जन गोल गर्न चुकेपछि पुलिस बुढासुब्बाको फाइनल प्रवेश गर्न सफल भयो ।
टाइब्रेकरमा मच्छिन्द्रका खेलाडी रन्जित धिमाल, बिमल घर्तिमगर, बिजय धिमाल, देबेन्द्र तामाङले गोल गरेका थिए भने बिराज महर्जन, विशाल राई ’बि’ ले प्रहार गरेको गोल हुन सकेन । यसैगरी नेपाल पुलिस क्लबका खेलाडी जुमानु राई, मनिष थापा, पदम भट्टराई, थीर्थ रानामगर, भोला सिलवाल र मनिष थापाले गोल गरेका थिए भने सुमन सुबेदीले गोल गर्न सकेनन् । खेलको उत्कृष्ट गोलकर्ता मच्छिन्द्र क्लबका रोजिन धिमाल घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी म्यान अफ द म्याच नेपाल पुलिस क्लबका खेलाडी सन्जित श्रेष्ठ घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।