बेलबारीः दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्ड कप २०७५ को उपाधी मोरङ एकेडेमीले जितेको छ ।
मोरङको बेलबारी – ११ लक्ष्मीमार्गको लक्ष्मी खेलमैदानमा सञ्चालन भएकोे प्रतियोगितामा बिर्तामोड युनाइटेड र मोरङ एकेडेमीबीचको खेलमा अन्तिम प्रतिस्पर्धा भएको थियो ।
खेलको पहिलो हाफमा ३ गोल लगाउन सफल मोरङ एकेडेमीले दोस्रो हाफमा ३ गोल थपेको थियो । बिर्तामोड युनाइटेडले भने कुनै गोल फर्काउन सकेन । मोरङ एकेडेमी र बिर्तामोड युनाइटेडबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भए पनि बिर्तामोडका तर्फबाट कुनै गोल हुन नसकेपछि दर्शकहरू निराश भएका थिए ।
मोरङका तर्फबाट ह्याट्रिक
प्रतियोगितामा मोरङ एकेडेमीका कर्ण लिम्बूले ह्याट्रिक गरेका थिए । संजोग राई, निशान लिम्बू र विदेशी खेलाडी फ्रेकले १÷१ गोल गरेका थिए । पहिलो हाफसम्ममा मोरङ एकेडेमीका निशान लिम्बूले ५ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो गोल भएको २ मिनेटपछि कर्ण लिम्बूले अर्काे गोल गरेर मोरङलाई अग्रता दिलाएका थिए ।
प्रतियोगितामा ह्याट्रिक गर्न सफल लिम्बूले आजको खेलमा ७, ५९ र ६४ औं मिनेटमा गोल गरेका थिए ।
विभिन्न विधाका उत्कृष्टलाई पनि पुरस्कार
खेल अवधिभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि फाइनल खेलमा पुरस्कृत गरिएको थियो ।
मोरङ एकेडेमीका किशोर गिरी बेस्ट गोलकिपर, प्रवेश दनुवार बेस्ट डिफेन्डर, संजोग राई बेस्ट मिड फिल्डर, कर्ण लिम्बू बेस्ट फरवार्ड घोषित भए । त्यस्तै बेस्ट कोच सञ्जीव बुढाथोकी भए ।
उता, राइजिङ प्रेयर अफ द टुर्नामेन्ट भने आयोजक क्लब डाँगीहाट फुटबल क्लबका मनिस राई र हाइ स्कोरर अफ दि टुर्नामेन्ट विजेता टिमका कर्ण लिम्बू घोषित भए । प्रतियोगिताभरको बेस्ट प्लेयरको उपाधी भने विवेक पौड्यालले हात पारे ।
प्रतियोगिताको विजयी टिमले रु २ लाख २२ हजार र उपविजेताले रु १ लाख ११ हजार बराबरको चेक प्राप्त गरेका थिए । एन्फाका अध्यक्ष कर्मा छिरिङ लामाले विजयी टिमलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।