इटहरीः गत शनिबारबाट इटहरी रङ्गशालामा शुरु भएको एन्फा ग्रासरुट फुटबल क्याम्पमा सार्वजनिक विद्यालयलाई नसमेटेर आलोचित सुनसरी फुटबल सङ्घ सिण्डिकेटमा चलेको विभिन्न क्लबहरूले गुनासो गरेका छन् ।

सुनसरीमा २०५२ सालताका सङ्घमा जोडिएका विभिन्न १७ क्लबहरूकै सिण्डिकेटमा सुनसरी फुटबल सङ्घ चलेको धरान, इटहरी र वराहक्षेत्र नगरपालिकाका विभिन्न क्लबका पदाधिकारीहरूले गुनासो गरेका छन् ।

‘हामीसँग विभिन्न उमेर समूहका खेलाडीहरू छन् र हामीले विभिन्न जिल्लाका खेल प्रतियोगिताहरूमा भाग लिएका छौँ’, वराहक्षेत्र नगरपालिकाको राजाबास क्लबका सचिव भुपाल बिष्ट भन्छन्, ‘तर, हामीलाई अझैसम्म पनि जिल्ला फुटबल सङ्घमा समेटिएको छैन ।’ लामो इतिहास बोकेको राजाबास फुटबल क्लबले धेरै वर्ष अगाडि जिल्ला फुटबल सङ्घमा आबद्धताको आग्रह गरे पनि बेवास्ता गरिएको बिष्टले बताए ।

‘हाम्रो चक्रघट्टी क्षेत्रको ग्रिन कल्चर भन्ने क्लब छ जसको कुनै खेलाडी छैनन् । न त कुनै प्रतियोगितामा भाग नै लिन्छ’, बिष्ट भन्छन्, ‘तर हाम्रो राजाबास क्लबजस्तो क्रियाशील क्लब भने सदस्य बन्न विमुख छ ।’ सक्रिय क्लबलाई विमुख बनाएर निष्क्रियलाई सदस्यता दिनु दुःखद भएको बिष्टले बताए ।

41890351_2144478955768090_6514495743330353152_n

इटहरी–३ को शान्तिनगर फुटबल क्लबको पीडा पनि उस्तै छ । शान्तिनगर क्लब २०६३ सालदेखि फुटबल क्षेत्रमा सक्रिय छ । २०६५ सालमा दर्ता भएको यो क्लब १० वर्ष औपचारिक क्लब भएर अनगिन्ती प्रतियोगितहरूमा समावेश भएको छ । २०७२ सालमा त सुनसरीको विजेता पनि बन्यो । यत्तिको गौरवशाली इतिहास भए पनि यो क्लब जिल्ला फुटबल सङ्घमा अटाएको छैन ।
क्लबका अध्यक्ष राकेश आलेका अनुसार शान्तिनगर फुटबल क्लबलाई सदस्यता दिन धेरै अगाडि निवेदन दिए पनि बनाएको छैन । ‘हामीले फुटबल क्षेत्रमा राम्रो काम गरेका छौँजस्तो लाग्छ र हाम्रा फुटबल गतिविधिहरू पनि धेरै छन्’, आलेले भने, ‘तर १७ क्लब भएको जिल्ला फुटबल सङ्घमा हामी अटाउन सकिनौँ ।’

राजाबास क्लब, शान्तिनगर क्लब, डिसिटी क्लब, पाञ्चायन क्लबजस्ता सुनसरीका राम्रो खेलकुदका गतिविधि गर्दै आइरहेका क्लबहरूका पदाधिकारीहरूले १७ क्लबको सिण्डिकेटले आफूहरू अट्न नसकेको बताए । उनीहरूले क्लबमा आफूहरू अट्न नसक्दा विभिन्न जिल्ला फुटबल सङ्घका महत्वपूर्ण निर्णयहरूमा सहभागिता जनाउनबाट विमुख भएको पनि गुनासो गरेका छन् ।

20180915_084049 2

सिण्डिकेट होइन, विधानका कारण नयाँ क्लब आउन सकेनन्ः अध्यक्ष कार्की
सुनसरीका थुप्रै सक्रिय क्लबहरूले आफूलाई जिल्ला फुटबल सङ्घमा समावेश नगरेर १७ क्लबले सिन्डिकेट चलाएको गुनासो गरिरहँदा सङ्घका अध्यक्ष केशव कार्की भने प्रतिवाद गर्छन् । उनी भन्छन्, ‘यो सबै हुनुमा गणेश थापा हुँदाको समयमा बनेको विधानले हो ।’ विधानमा जिल्लाका ए डिभिजन खेल्ने क्लबहरूलाई जिल्ला फुटबल सङ्घमा राख्ने भएकाले यस्तो भएको कार्कीले बताए ।

विभिन्न प्रतियोगिता जित्नेले सदस्यता नपाउनु तर सदस्य भएर पनि निस्क्रिय भएकाहरूमा के हुन्छ भन्ने प्रश्नमा कार्की अब यो सबै सुधार हुने बताउँछन् । ‘यो असोजमा ए डिभिजनको लिग हुन्छ, अलिकपछि बी र सी डिभिजनको पनि लिग हुन्छ’, कार्कीले भने, ‘त्यसको नतिजा आएपछि सबै राम्रा क्लबहरू जिल्ला फुटबल सङ्घमा अटाउँछन् ।’

जिल्ला फुटबल सङ्घका कोषाध्यक्ष कोबितजंग कार्कीले अब बी र सी डिभिजनका लिगहरू शुरु भएपछि सबै समस्या हल हुने बताए । जिल्ला फुटबल सङ्घमा गैरखेलाडीहरू पनि किन हुन्छन भन्ने प्रश्नमा कोषाध्यक्ष कार्कीले जिल्ला फुटबल सङ्घमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी नै हुनुपर्ने कुनै नियम नभएको बताए ।

उनले भने, ‘हाम्रो सङ्घ बन्न विभिन्न १७ क्लबले मान्छे पठाएर दिने हो । अनि त्यहीँबाट पदाधिकारीहरू चुनिन्छन् । गैर खेलाडी क्लबले पठाए पनि सङ्घमा आउन मिल्छ ।’