विराटनगरः भारतको आगरामा असोज ४ गतेदेखि १४ गतेसम्म हुने यु–१८ च्याम्पियनसीपको ४६ औं एशियन स्कुल फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विराटनगरमा बिदाइ गरिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहितले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
१ महिनासम्म विराटनगरमा बन्द प्रशिक्षणको रूपमा रहेको टिमका कप्तान दिनेश हेम्जनको नेतृत्वमा ४ जना वैकल्पिकसहित २३ जनाको फुटबल टोली आगरा प्रस्थान गरेको हो । त्यस बाहेक प्रशिक्षक, व्यवस्थापक गरी २८ सदस्यीय टोली भारत जाने एन्फाका प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले बताए ।
८ राष्ट्र सहभागी हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ बाट इण्डोनेसिया, चीन र थाइल्याण्डसँग मैदानमा उत्रने छ । नेपालले पहिलो खेल असोज ६ गते थाइल्याण्डसँग खेल्नेछ । त्यसपछि इण्डोनेशियासँग असोज ८ गते र चीनसँग असोज ९ गते खेल्ने प्रवक्ता राईले जानकारी दिएका छन ।
समूह विजेता र उप–विजेता टिम सेमिफाइनलमा पुग्नेछन् । समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया श्रीलङ्का र भारत छन् ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षक पासाङ तामाङ, गोलकिपर प्रशिक्षकमा चक्र तामाङ, व्यवस्थापकमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी छन् ।
खेलाडीहरू सूर्यकुमार अधिकारी, विष्णुकुमार केसी, विशाल सुनार, नितिन थापा, मनिष थापा, जय गुरुङ, सेसेहाङ आङदम्बे, सुरजज्यू ठकुरी, अनिल महर्जन, दिनेश हेम्जन (कप्तान), बुद्धबल तामाङ, ऋतिक खड्का रहेका छन् ।
त्यस्तै, अनुप गुरुङ, टीका गुरुङ, विकास खवास, नवीन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल, सञ्चित राईलाई एन्फाले छनोट गरेको छ । यसैगरी टोलीमा श्रवण लामा (रेफ्री), प्रवेश भट्टराई (फिजियोथेरापिस्ट), दीपेन्द्र तिवारी (अफिसियल) र किशोर बुढाथोकी (पत्रकार) रहेका छन् ।
नेपालका लागि फुटबल खेल्नका लागि जाने टिमका कप्तान दिनेश र व्यवस्थापक रुपेश अधिकारीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् ।