सङ्खुवासभा / विश्वकप फुटबल २०१८ मा रसियामा फहराइएको नेपालको झण्डा जिल्ला खेलकुद विकास समिति सङ्खुवासभालाई उपहार स्वरूप प्रदान गरिएको छ ।
रसिया विश्वकप २०१८ मा नेपालका तर्फबाट फुटबल हेर्न पुगेका सङ्खुवासभाका गौरीमान राईले एक कार्यक्रमको आयोजना गरी सो झण्डा समितिलाई हस्तान्तरण गरेका हुन् ।
विश्वमा नेपालको भण्डाको छुट्टै शान भएको भन्दै उनले नेपाललाई चिनाउने माध्यम यो नै भएको बताए । राईले आफूले सङ्खुवासभाको माटोमा फुटबल सिकेको हुनाले रसियामा फहराइएको सो झण्डा जिल्ला खेलकुद विकास समिति सङ्खुवासभालाई उपहार दिइएको बताए ।
अरुण एडभान्स क्लव काठमाडांैका अध्यक्ष समेत रहेका राईले नेपालको गौरव राष्ट्रिय झण्डा मात्रै भएको र त्यही गौरव विश्वलाई देखाउन सफल भएकाले पनि सो गौरवान्वित भण्डा आफ्नै जिल्लामा राख्न चाहेको बताए ।
आफूले पढेको खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनले सो विद्यालय तथा खेलाडीहरूलाई समेत सहयोग प्रदान गरेका थिए । विद्यालयलाई उनले नगद ५१ हजार १ सय ५१ रुपैयाँसहित एक प्रोजेक्टर प्रदान गरे ।
सो कार्यक्रममा उनले १४ वर्ष उमेर समूहमा साफ च्यम्पियनसिपमा खेल्ने महिला फुटबल टिममा राष्ट्रिय टोलीमा पर्न सफल सङ्खुवासभाकी अस्मिता गुरुङ र धावक सिर्जना राईलाई खेलकुद सामग्री र नगद प्रदान गरे ।
राईले विद्यालयमा कराते सिकिरहेका खेलाडीहरूलाई करातेमा प्रयोग हुने सुरक्षा सामग्री र सुस्त श्रवण भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत प्रदान गरे ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरे, विद्यालयका सल्लाहकार हेमराज घिमिरे लगायतका वक्ताले विद्यालयको प्रगतिको कामना गरेका थिए ।