इटहरीः इटहरीमा यही असोज १५ गतेदेखि १९ गतेसम्म तेस्रो अन्डर नाइन्टिन राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक इटहरी क्रिकेट एकेडेमीलेले आज पत्रकार सम्मेलन गर्दै इटहरीस्थित डिभिएम क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पूर्वको स्पोर्ट सिटीको रूपमा विकसित हुँदै गएको इटहरीमा क्रिकेट खेल मैदान बनाउन राष्ट्रिय स्तरसम्म दबाब सिर्जना गर्न इटहरीमा तेस्रो पटक प्रिमियर लिग आयोजना गर्न लागिएको क्लबका अध्यक्ष कैलाश बिष्टले बताए ।
प्रतियोगितामा नेपालका प्रमुख टिमहरू काठमाडौं, विराटनगर, प्रदेश नम्बर २, भैरहवा, कैलाली र आयोजक इटहरी क्रिकेट एकेडेमी सहभागी हुने भएका छन् । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने जनाइएको छ । प्रतियोगिताका लागि खेल मैदान र पिच तयार गर्न शुरु समेत भइसकेको बिष्टले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार र ट्रफी तथा उपविजेतालाई नगद ५५ हजार र ट्रफी दिइने आयोजकले जनाएको छ । यस्तै, सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार नगद र ट्रफी दिइने बिष्टले बताए । प्रतियोगितामा बेस्ट म्यानलाई ५ हजार, बेस्ट बलरलाई ५ हजार र म्यान अफ द म्याचलाई २ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।