धरानः संविधान दिवसको अवसरमा धरान–१३ को जनजागृति सेवा समाजद्वारा आयोजित ‘वडास्तरीय खुला सडक दौड प्रतियोगिता’ मा पुरुषतर्फ किरण राई र महिलातर्फ सिर्जना राई विजयी भएका छन् ।
प्रतियोगितामा २ दशमलव ५ किलोमिटर दूरको दौड पूरा गर्नुपर्ने थियो । यसैगरी, पुरुषतर्फ सन्देश राई दोस्रो र गौरव राई तेस्रो बने । महिलातर्फ मञ्जिला राई दोस्रो र सुजता राई तेस्रो बनिन् ।
यसैगरी, अण्डर १६ मा पुरुषतर्फ रबिन थापामगर र महिलातर्फ सरिता थापा विजयी भए । पुरुषतर्फ सामुयल राई दोस्रो र धिरज गुरुङ तेस्रो बने । महिलातर्फ अङ्किता राई दोस्रो र पायल सुब्बा तेस्रो बनिन् ।
विजेताहरूमध्ये पहिलोले नगद २ हजार ५ रुपैयाँ, दोस्रोले १ हजार ५ सय ५ रुपैयाँ, तेस्रोले नगद १ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बक्सिङ प्रशिक्षक अनुप लामा र वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
समाजको मूल गेटबाट शुरू भएको दौड फुस्रे चोक, सूर्यमार्ग रोड हुँदै अमरहाटको कोशी राजमार्ग, वडा कार्यालय, दिपेन्द्र प्रहरी स्कुल हुँदै पुनः समाजको मूलगेटमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा १ सय २९ जना सहभागी रहेको समाजका अध्यक्ष प्रेमकुमार गुरुङले बताए ।