विराटनगरः प्रदेश १ को विराटनगरमा देशकै सबैभन्दा बढी नगद राशी भएको ‘भेट्रान’ फुटबल टुर्नामेन्टको आयोजना हुने भएको छ ।
विराटनगरको सिएमजी स्वास्थ्य क्लबको आयोजनामा आगामी असोज २० गतेदेखि शहीद रङ्गशालामा फुटबल टुर्नामेन्ट आयोजना हुने भएको हो ।
आयोजक सिएमजी क्लबका अध्यक्ष किशोर धमलाका अनुसार पूर्व खेलाडी तथा प्रशिक्षक समेत सम्मिलित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । खेलमा विजयी टिमले १ लाख ५१ हजार नगद र उप–विजेताले ७५ हजार नगदसहितको पुरस्कार पाउने भएको छ । पुरस्कारको रकम गत वर्ष क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ मात्रै थियो ।
तेस्रो संस्करणको आगामी वर्ष हुने भेट्रान फुटबल टुर्नामेन्टमा भारतबाट समेत टिमलाई सहभागी गराउने तयारीमा रहेको आयोजकले दाबी गरेको छ । यस वर्षको टुर्नामेन्टमा सहभागी खेलाडीेलाडीमध्ये ३६ वर्षका २ जना, ३८ वर्षका ५ र ४० वर्षका ४ जनाले खेल्नेछन् ।
फुटबल टुर्नामेन्टमा विराटनगरबाट आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरी भेट्रान क्लब, धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको बिर्तामोड भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रान क्लबले सहभागिता जनाउने भएका छन् ।
विजेता र उप–विजेतासहित म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता समेतलाई पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । असोज २० गते शुरु भएको खेल २७ गतेसम्म सञ्चालन हुनेछ ।