दुहबीः विश्व मुटु दिवसको अवसर पारी दुहबी जेसीजले गरेको ‘स्वस्थ मुटुका लागि दौड’ नामक खुला मिनी म्याराथन प्रतियोगितामा शेरबहादुर राई पहिलो भएका छन् ।
२ सय जना प्रतियोगीले भाग लिएको प्रतियोगितामा विजयी भएकार राईले ११ हजार १ सय रुपैयाँ नगद तथा मेडल र अन्य उपहार पाए । उनले ५ किलोमिटर दूरी २१ मिनेट १० सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा दोस्रो भएका शङ्कर चौधरीले ८ हजार १ सय रुपैयाँ नगद तथा मेडल र उपहार पाए । उनले २१ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । तेस्रो हुने नवीन राईले ५ हजार १ सय रुपैयाँ नगद, मेडल तथा उपहार पाए । उनले २२ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।
यसैगरी, महिलातर्फ पहिलो हुने सविता श्रेष्ठले २ हजार ५ सय रुपैयाँ नगद तथा मेडल र उपहार पाइन् । उनले ५ किलोमिटरको दूरी ३२ मिनेट १२ सेकेण्डमा पार गरेकी थिइन् । दुहबी–५ स्थित सरस्वती माविको खेल मैदानबाट शुरु भएको प्रतियोगिताको लागि दुहबी बजार हुँदै रमपमउद्योगबाट पुन सरस्वती माविको मैदानसम्मको रुट तोकिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पुरस्कार वितरण गरेका थिए । खेलकुदको प्रोत्साहनका लागि आफूले सक्दो सहयोग गर्ने उनले सो अवसरमा बताए । कार्यक्रममा लाइफगार्ड अस्पतालका वरिष्ठ चिकित्सक अरबिन्द देवले मुटु कसरी स्वस्थ राख्ने भन्ने विषयमा जानकारी गराएका थिए । देवले पछिल्ला वर्षमा अस्पतलमा मुटुरोगीको चाप बढ्दै गएको बताए । डा. देवले भने, ‘टन्सिलाइटिस, उच्च रक्तचाप, मधुमेहको समयमा उपचार नगर्दा र खराब जीवनशैलीले पनि मुटु रोगको जोखिम उच्च रहन्छ ।’
मुटु रोगबारे जनचेतना जगाउन सरकारले गरेका कार्यक्रम पर्याप्त नभएको भन्दै उनले नेपालको कुल जनसङ्ख्याको झण्डै ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग रहेको बताए ।
मिनी म्याराथन दौड प्रतियोगितालाई सहयोग पुर्याएको भन्दै विभिन्न सङ्घ संस्थालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । दुहबी जेसिजकी अध्यक्ष कञ्चन झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुहबी जेसीजकी महासचिव साक्षी शर्मा न्यौपानेले गरेकी थिइन् ।