इटहरीः सरकारले आगामी ९ असारदेखि १५ गतेसम्म देशभरका ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

पहिलो चरणमा देशका २७ जिल्लामा खोप अभियान सञ्चालन हुन लागेको हो । लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोपको दुई मात्रामा दिइनेछ । पहिलो खोप लगाएको २१ दिनपछि दोस्रो खोप दिइने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले बताए । उनका अनुसार खोप लगाउँदा टाउको दुख्ने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका सामान्य लक्षण देखिन सक्छ जुन सबै खोपमा लक्षण देखिन्छ, यसमा डराउने कुनै कुरा छैन ।

तर शरीर चिलाउने, विमिरा आउने, डाबर हुने, बढी आलस्य हुने, सुई लगाएको ठाउँमा बढी चिलाउने वा फोका जस्तो देखिएमा तुरुन्त सम्बन्धित खोप केन्द्र वा चिकित्सक कहाँ सम्पर्क गर्नुपर्नेमा उनले जोड दिए । कोभिड विरुद्धको खोप अभियान होस् वा स्वास्थ्य उपचार प्रदेश सरकारले गम्भिरतापुर्व लागेको बताउँदै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड सङ्क्रमित बिरामीको विशेष उपचारका लागि व्यवस्था मिलाएको पनि जानकारी दिए ।