इटहरीः स्वच्छ धरान सफा धरानको नारासहित भानुचोकको सरसफाइ गरेर अभियान सञ्चालन गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई डस्विन सहयोग गर्नेहरुको ओइरो लागेको छ ।

भानुचोकको सफाइमा झाडु बोकेर आफँे निस्किएपछि ‘हट केक’ बनेका मेयर हर्क साम्पाङ्गलाई समर्थन गर्दै मेगा बैंक धरान शाखाले डस्विन हस्तान्तरण गरेपछि डस्विन सहयोग गर्नेहरु एकपछि अर्को गर्दै अगाडि आइरहेका छन् । पछिल्लो समय हङ्गकङ्गमा कार्यरत धरानवासीहरुले स्वच्छ धरान अभियानमा मेयरको साथ दिँदै डस्विन सहयोग गरेका थिए । धरान १५ स्थायी घर भई हङकङमा रहँदै आएका विष्णुकुमार राई र श्रीमती दीपा लिम्बूका साथै धरान १९ निवासी राजन लिम्बू र सरस्वती लिम्बूले ३४ थान डस्विन उपमहानगरलाई सहयोग गरेका थिए । उनीहरुले सहयोग गरेको डस्विन केही दिनअघि मात्र धरान ११ निवासी शोभा राईेले मेयर साम्पाङलाई हस्तान्तरण गरेकी थिइन् ।

dustbin02

मेयर साम्पाङको स्वच्छ धरान, सफा धरान अभियानलाई साथ दिँदै दाताहरुले प्रभावित भएर डस्विन हस्तान्तरण गरेको शोभाले बताएकी थिइन् । यसैगरी, संयुक्त अधिराज्य (युके) निवासी इशा गुरुङले समेत धरानका मेयर हर्क साम्पाङको अभियानलाई साथ दिँदै ३० वटा डस्विन सहयोग गरेकी छन् । पोखरा घर भएकी गुरुङ्गले मेयरको कार्यशैलीबाट प्रभावित भएर सहयोग गरेको बताएकी छन् । इशाबाट प्राप्त भएको ३० वटा डस्विन धरानमा उनका सम्पर्क व्यक्ति विमल उदासले उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन् । इशाले सहयोग गरेकामध्ये २० वटा डस्विन धरानका २० वटै वडामा र बाँकी १० वटा विभिन्न धार्मिक एंव पर्यटकीय गन्तव्यमा राखिने बताइको छ ।

dustbin04

dustbin03

यसैगरी मेयरको अभियानलाई साथ दिँदै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमा अभिकर्ताहरुले समेत १० वटा डस्विन सहयोग गरेका छन् । बुधबार मात्र आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले सहयोग मेयर साम्पाङलाई हस्तान्तरण गरेका हुन् । आफूले सञ्चालन गरेको सरसफाइ अभियानमा दाताहरुबाट सहयोग जुट्न थालेपछि मेयर हर्क साम्पाङ्गले धरानको सरसफाइका लागि ब्रुमर मेसिन सहयोग गर्न युके निवासी लाहुरेहरुलाई आग्रह गरेका छन् । धरानको सरसफाइको लागि सहयोग माग्न आफूले लाज नमानेको बताउँदै मेयरले मंगलबार एक लाइभ भिडियो सार्वजनिक गर्दैै ब्रुमर सहयोग गर्न आग्रह गरेका हुन् ।