इटहरीः उद्योग वाणिज्य सङ्घ (उवा सङ्घ) इटहरीको चुनावी सरगर्मी बढेसँगै नयाँ व्यवसायीहरू थपिने क्रम बढेको छ । असार १४ गते हुने चुनावको लागि जेठ १० गतेसम्म व्यवसाय दर्ताको समय सीमा भएकाले नयाँ व्यवसाय दर्ता गर्नेहरू बढेको उवा सङ्घ इटहरीका अध्यक्ष लीलम बस्नेतले बताए । बस्नेतका अनुसार नयाँ प्यान लिएर नयाँ व्यवसाय दर्ता गर्नेहरू बढेका छन् ।

‘दुई दिन अगाडिसम्म ३४ सय सदस्यहरू थिए आजका दिनमा ३९ सय पुगेको छ’, अध्यक्ष बस्नेतले भने, ‘आज मात्रै १ सय हाराहारी नयाँ व्यवसाय दर्ताको लागि नयाँ प्यान आएको बुझेको छु ।’ बस्नेतका अनुसार यसपटक देखि प्यानबिना व्यवसाय दर्ताको सुविधा नभएकाले प्यान लिएर आउनेहरू बढेका छन् ।

प्यान अनिवार्य गरिएपछि मतदाता घट्ने सम्भावना
गत वर्षको भन्दा यो वर्षको उवा सङ्घ चुनावमा मतदाता भने थोरै हुने अनुमान अध्यक्ष बस्नेतको रहेको छ । बस्नेतका अनुुसार गत वर्ष ४ हजार १ सय १ मतदाता रहेका थिए । यो वर्ष प्यान अनिवार्य गरेपछि मतदाता कम हुने अनुमान भएको बस्नेतले बताए ।

‘गत चुनावसम्म उवा सङ्घ धेरै अव्यवस्थित भएको थियो तर म आएपछि व्यवस्थित गरेकाले फरक भएको छ’, प्रदेश १ का प्रभावशाली प्रदेश सांसद समेत रहेका बस्नेतले भने, ‘पहिले नागरिकता भएकाले पनि भोट हाल्न पाउँथे अब प्यान नम्बर अनिवार्य गरेका छौँ ।’
प्यान नम्बर अनिवार्य गर्दा राज्यलाई कर आउनेदेखि अधिकांश व्यावसायिक व्यक्ति मात्रै सदस्य हुने बस्नेतको तर्क छ । यो वर्ष ४ हजार भन्दा कम मतदाता हुने अनुमान गरेको बस्नेतले बताए । प्यान अनिवार्य गरेपछि पछिल्लो चुनावमा भोट हालेकाहरूबाट१ हजार ५ सय मतदाता कम हुने अनुमान गरिएको कार्यवाहक अध्यक्ष शैलेश बिष्टले बताए ।

गैरव्यवसायीले मतदाता बन्न प्यान लिए करको भारी बढ्ने
उवा सङ्घको चुनावको चर्चा बढेसँगै चुनावमा मतदाता बन्न गैर व्यवसायीहरूले पनि व्यवसाय दर्ता गराएको गाइँगुइँ सुनेको अध्यक्ष बस्नेतले बताए । बस्नेतका अनुसार चुनावी मैदानमा रहेका व्यापारिक नेताहरूले प्यान दर्तादेखि व्यवसाय दर्ता निःशुल्क गरिदिए पनि अर्को वर्षबाट स्वयं व्यक्तिलाइ आर्थिक असर गर्छ ।

‘अहिले चुनावमा नेताहरूले आफ्नै खर्चमा प्यानदेखि व्यवसाय दर्ता गर्देलान् तर पछि करको मारमा स्वयं व्याक्ति पर्छ’, अध्यक्ष बस्नेत भन्छन्, ‘खर्च अरुको भए पनि व्यवसाय आफ्नो भएकाले आगामी करहरू आफैँले बोक्नुपर्छ ।’ गैर व्यवसायीले दर्ता गराएको व्यवसायको फार्म एक वर्षमा बन्द गराउन ५ हजार र २ वर्षमा बन्द गराउँदा १० हजार हाराहारी खर्च लाग्ने बस्नेतले बताए । उनले भने, ‘मतदाता बन्न पाइन्छ भनेर कागजमा प्यान र व्यवसाय दर्ता गर्दाको सबै आर्थिक भार स्वयं व्यक्तिमा जाने भएकाले सबैलाई सचेत हुन म आग्रह गर्दछु ।’

यस्तो छ उवा सङ्घ कार्यसमिति भोटिङ प्रणाली
असार १४ गते हुने उवा सङ्घ इटहरीको चुनावी प्रतिष्पर्धामा कार्यवाहक अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष भइसकेका शैलेश बिष्ट र कार्यसमिति सदस्य भीम पौडेलका दुइ प्यानल रहेका छन ।
कार्यसमितिमा अध्यक्षसहित १९ जनाको टिम निर्वाचित हुन्छ । जसमा वाणिज्यबाट ९ जना, उद्योगबाट ४ जना, वस्तुगत सङ्घबाट २ जना, महिला २ जना, एसोसिएटबाट १ जना सदस्यहरू रहन्छन् । उत्पादनमूलक क्षेत्रकालाई उद्योग, व्यापार क्षेत्रकालाई वाणिज्य, विभिन्न वस्तुका कारोबारीको सङ्घलाइ वस्तुगत सङ्घ र ५० लाख माथि पूँजी भएकोलाई एसोसिएट भनेर विभाजन गरिएको छ ।
महिला र अध्यक्षका प्रत्यासीलाई सबै सदस्यले भोट हाल्नुपर्नेछ । वाणिज्य, वस्तुगत, उद्योण र एसोसिएटतर्फका सदस्यहरूलाई भने सम्बन्धित क्षेत्रका व्यवसायीहरूले भोट हाल्न पाउनेछन् ।