इटहरीः नेपाली काँग्रेसले सुनसरीको धरानमा हुने दोस्रो तहको निर्वाचनलाई प्रतिष्ठानको विषय बनाएको छ । सदरमुकाम इनरुवाबाट सुरु भएको पार्टीको दोस्रो जागरण अभियानमा बोल्ने अधिकांश वक्ताले निर्वाचन क्षेत्र नम्बर एक समेत रहेको धरान उपमहानगरपालिकाको निर्वाचनलाई जुनसुकै हालतमा जित्ने र पार्टीको साख बढाउने दृढता व्यक्त गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले सुनसरीको चुनाव पाटीका लागि धेरै महत्त्वको विषय भएको बताए । उनले काँग्रेसका लागि यो चुनाव जीवन र मरणको विषय भएको भन्दै सबै नेता कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गरे ।

त्यस्तै पार्टी उपसभापति विजय कुमार गच्छदारले धरानको निर्वाचन पार्टी प्रतिष्ठानको विषय भएको हुँदा जितेरै देखाइदिने दाबी गरे । कुनै बेला कम्युनिस्टहरूको गढको रूपमा मानिएको धरान क्षेत्रलाई यो पटक काँग्रेसले झन्डा गाड्ने प्रतिज्ञा गरे ।

'६० वर्षको इतिहासमा काँग्रेसले चुनाव जित्न सकेको छैन ।'  गच्छदारले भने- 'यो पटकको चुनावले काँग्रेसको मेयरले चुनाव जीत्नैपर्छ ।'

 काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले प्रदेश एकका सक्रिय कार्यकर्तालाई धरान केन्द्रित गर्न सुझाव दिए । ‘यो पटक धरान काँग्रेस विजयी हुन्छ भन्ने विश्वासका साथ सम्पूर्ण नेता कार्यकर्तालाई शुभकामना समेत दिन चाहन्छु ।’ सिटौलाले भने ।

धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पूर्व एमालेका उमेद्वारा विजयी बनेका थिए ।

तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि मेयर पद खालि छ । ०७५ साउन १ गते मेयर सुब्बा र धरान–७ का अध्यक्ष भुवन मोक्तानको निधन भएपछि धरान नेतृत्वविहीन हाे ।निर्वाचन आयोगले मङ्सिर पहिलो साता चुनाव गर्ने घोषणा गरेको छ ।